---Advertisement---

नेकपाको विवाद जिल्लातहका विद्यार्थीसम्म, म्याग्दीमा झण्डै हात हालाहाल (भिडियो)

On: December 18, 2020 12:14 PM
Follow Us:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लातहको विद्यार्थी संगठनमा समेत देखिएको छ । पूर्व क्रान्तिकारीका जिल्ला उपाध्यक्ष यामनाथ पौडेलको शोकसभामा सहभागि हुन आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रन्जित तामाङलाई गुटगट भेला गरेको भन्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका विद्यार्थी नेताले विरोध गरेका छन् ।

अनेरास्ववियू म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले जिल्लामा प्रवेश गर्दा समेत संस्थागत जानकारी नभएको भन्दै सह अध्यक्ष तामाङ सहभागी भएको पत्रकार सम्मेलनस्थलमै पुगेर कडा प्रतिवाद गदैं पूर्व क्रान्तिकारीहरुलाई भेला गरेको आरोप लगाए ।  शुक्रबार विहान आयोजित पत्रकार सम्मेलन लगत्तै ओली निकट विद्यार्थीका नेताले अनेरास्ववियूका केन्द्रिय सदस्य सुदिन पौडेल, म्याग्दीका सह अध्यक्ष रेशम कटुवालसंग विवाद भएको थियो ।

केहीबेर धकेला धकेल भएको थियो । पत्रकार सम्मेलन भएको स्थान बाहिर करिब आधा घण्टा दुवै पक्ष बिच विवादमा सह–अध्यक्ष तामाङले आक्रमणको शैलीमा आएको भन्दै आपत्ती जनाएका थिए । यता म्याग्दीका सह अध्यक्ष रेशम कटुवालले जिल्ला कमिटीमा सबै जानकारी गराएको बताउँदै झुटा आरोपले संगठन झन तहसनहस हुन लागेको बताए ।

जिल्लाका सबै नेताहरुलाई जानकारी भएको बताउँदै सत्ताको दम्भ देखाएर अराजकता मच्चाएको आरोप पूर्व माओवादी निकट विद्यार्थीको भनाई थियो । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२ ताराखेतमा स्वर्गीय पौडेलको घरमा हुने श्रद्धान्जली सभाको जानकारी चारदिन अगाडी नै रहेको कटुवालको भनाई छ ।

झन्डै दुवै पक्ष बिच हात हालाहलको अवस्था आएको थियो । विवादलाई साम्य पार्न प्रहरी समेत पुगेका थिए । पार्टीको कार्यक्रममा गुटबन्दी गर्दै हिँड्ने गरेको यस अगाडी समेत ओली निकटले आरोप लगाउने गरेका थिए ।

जिल्लामा आउने क्रममा देखाइएको उछ्रिंखलतालाई केन्द्रमा समेत जानकारी गराउने सह–अध्यक्ष तामाङले बताएका छन् । उनले आफ्नो कुनै स्वार्थ नभएको र सहकार्यबाटै पार्टीको विवाद समाधानको प्रयास गरेपनि अनावश्यक विवादले थप तिक्तता बढेको बताएका छन् । ओली निकटले म्याग्दीमा पूर्व माओवादी समुहले भेला गरेको आरोप लगाएको छ भने पूर्व माओवादी समुहले समेत जिल्ला बाहिर गएर योजना बनाउने र आएर आक्रमणको शैलीमा अराजकता प्रस्तुत गर्ने गरेको बताए ।