म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष गर्दै आइरहेको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन शाहीको नेतृत्वमै महिला भलिबल टोलीले अन्तराष्ट्रिय उपाधीसँगै सार्कमा पहिलोपटक रजत पदक समेत जित्न सफल भएको थियो ।

सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी शाहीले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोनमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जिताउन सफल भएपछि उनको खेलको सर्वत्र चर्चा मात्रै भएन् हरेक विभिन्न ब्यवसायीक तथा सामाजिक संस्थाबाट समेत सम्मान र उपाधिको बर्षा भयो। उत्कृष्ट पाँच खेलाडीको मनोनयनमा परेकी शाहीसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेपछि कस्तो अनुभुती भएको छ ?
निकै उत्साहित छु। नेपाल खेलकुद पत्रकार मञ्चको प्रतिष्ठित पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्नु खेलाडीका लागि ठूलो सफलता हो। भलिबल खेलमा आफ्नो क्षमत र टिमको सफलताले समेत मनोनयनको सूचीमा पर्न सफल भएको छु। यो अवसरका लागि आयोजकलाई धन्यवाद दिदैं अब उपाधीका लागि खेलप्रेमी, शुभचिन्तकहरुको साथ र सहयोगको आवश्यकता छ ।

कोरोना भाइरसले करिब एकबर्ष नै ब्यवसायीक खेल खेल्ने वातावरण भएन, अहिले के गदैं हुनुहुन्छ ?
कोरोनाको जोखिमले खेलकुद क्षेत्रमा नराम्रो प्रभाव पार्यो। खेलकुदमा लागेका धेरै खेलाडीहरुले आफ्नो क्षमतालाई खुम्चाएर राख्नुपर्ने अवस्था भयो।

मैले कोरोनाको जोखिमका बिच केही अभ्यास खेल खेलेपनि सम्रग खेलकुद गतिविधिमा ठूलो असर गरेकाले कोरोनाको जोखिम घट्दै गएको अवस्थामा अव खेल क्षेत्रले पनि लय लिने अपेक्षा गरेको छु । अहिले म मनोनयनको सूची सार्वजनिक गर्ने कार्यक्रममा सहभागी भएर पोखरा फर्किदै छु । अव केहीदिनमा भलिबलको अभ्यास खेलहरु नियमित खेल्ने छु ।

म्याग्दीको एउटी चेलीले राष्ट्रिय भलिबल हाँक्ने अवसर पाउँदा कस्तो लागेको छ ?
राष्ट्रिय टिमबाट खेल्ने अवसरसँगै महिला भलिबल टिमको कप्तानको जिम्मेबारी सहाल्न पाउँदा धेरै खुसी लागेको थियो । मेरो नेतृत्वमा बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको ट्रफी र आफ्नै देशमा भएको सार्क खेलमा रजत पदक जित्न सफल भए । सबै खेलाडीको साथ र सहयोगले दुईवटा प्रतियोगितामा नेपालले सानदार प्रस्तुती देखाउन सफल भयो । नेपाली महिला भलिबललाई नयाँ उचाईमा पुगेको छ । सामुहिक मेहनत र प्रशिक्षकको साथले मैले अझै राम्रो गर्ने प्रयास गर्नेछु ।

भलिबल खेलबाट आर्थिक रुपमा आत्मनिर्भर हुन सकिन्छ त ?
कोरोना भाइरसयता खेलकुद इोत्र नराम्रोसँग निमोठिएको छ । विगतमा भन्दा पछिल्लो एकबर्ष यता झन चुनौती थपिएको छ । नेपालका हरेक क्षेत्रमा काम गर्न चुनौतीपूर्ण भएपनि खेलकुद क्षेत्रमा मेहनत धेरै र टिक्न सक्नुपर्छ । खेल क्षेत्रबाटै आत्मनिर्भरको सम्भावना न्यून भएपनि यसबाट आत्मसन्तुष्टी, आफ्नो देशलाई विश्वमा चिनाउन सजिलो हुन्छ ।

विश्वभरका खेलाडीहरूमा नेपाली टोलीबाट प्रतिनिधित्व गरेर सहभागी हुने अवसरलाई आर्थिकसँग तुलना गर्न सकिदैन् । पछिल्लो समय केही सहज भएको छ ।  नेपाली खेलाडीले विदेशमा रहेका नेपाली संघसंस्थामार्फत खेल्ने, राष्ट्रिय खेलकुद सहित खेल क्षेत्रमा सक्रिय रहेका संघसंस्थाले समेत ठूलो धनराशीले सम्मान गर्ने अवस्थाले खेलाडीलाई केही सहज भएको छ । भलिबल राष्ट्रिय खेल भएकाले पनि यसलाई प्रबर्धन गर्न राज्यले योजनाबद्ध तरिकारले अगाडी बढेमा भविस्य राम्रो छ ।

तपाईले भलिबलबाट अव देखेको सपना के कस्त छन् त ?
पछिल्लो दुईबर्ष यता नेपाली महिला भलिबल टोलीले भलिबलमा नेपाललाई स्वर्णिय यूगमा प्रवेश गराउन सफल भएको छ । दुईदशक यताको नतिजालाई हेर्दा र दुईबर्ष यताको उपलब्ध्ीलाई तुलना गर्दा नै प्रष्ट हुन्छ । अन्तराष्ट्रियस्तरका प्रतियोगितामा मुस्किलले रजत पदक सम्म जितेको अवस्थामा स्वर्णपदक नै जित्न सफल भयौं । प्रयाप्त स्रोतसाधनको अभाव, खेलकुदमा राज्यको कम लगानी, लगाएत धेरै कारणले नेपाली भलिबल टोलीले आफ्नो खेललाई उकास्न नसकिएको अवस्थामा पनि हामीले उपाधी जित्न धेरै पसिना बगाएका छौ ।

आफ्नै देशभित्र भएका अन्तराष्ट्रियस्तरका खेलहरूमा समेत सन्तोषजनक खेल देखाउन नसकेको अवस्थामा विदेशी भूमिबाट ट्रफि लिएर जन्मभूमिमा पाईला टेक्दा मैले धेरै सपनाहरु देखेको छु । अव लगातार हुने कुनैपनि अन्तराष्ट्रियस्तरको खेलमा नेपालले कमजोर प्रस्तुती देखाउने छैन् ।

Leave a Reply