कोरोना भाइरस(कोभिड–१९)बाट प्रभावित भएका अपांगता भएका व्यक्तिहरुलाई बेनीमा राहत वितरण गरिएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल र सिविएम नेपालको सहकार्यमा महासंघको गण्डकी प्रदेशले जिल्ला शाखासंग समन्वय गरि ११ जना अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरेकोे हो ।
अपांगता भएका व्यक्तिहरुलाई ३० केजी चामल, साबुन लगायतका सरसफाई सामाग्री, नुन, तेल, दाल, २ वटा बल्याङ्केट सहित प्रतिपरिवार रु १२ हजार बराबरको दरले राहत उपलब्ध गराईएको थियो । कार्यक्रममा महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष खोमराज शर्मा, केन्द्रिय सचिबालय सदस्य सुरेन्द्र केसी, अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसी लगायतले राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
महासंघले प्रदेशका सबै जिल्लामा ४० जना कोभिड प्रभावित अपांगता भएका व्यक्तिहरुलाई राहत उपलब्ध गराउने जनाएको छ । सहयोग हस्तान्तरण गर्दै महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिहरुको दैनिकीमा सहजता पु¥याउन राहत उपलब्ध गराईएको बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुलाई राज्यले उचित तवरले ध्यान दिन नसकेको बताउँदै शर्माले अपांगता भएका व्यक्तिको अवसर र सहजताका लागि सबै क्षेत्रबाट रचनात्मक सहकार्य हुन आबश्यक रहेकोमा जोड दिनुभयो । अपांग संघ म्याग्दीका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघका गण्डकी प्रदेश समितिका कर्मचारी सूर्यप्रसाद भट्टराईले गर्नुभएको थियो ।

Leave a Reply