नेपाल सरकारले गत अप्रिल अर्थात् वैशाखदेखि चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङस्थित बहुचर्चित कोरला नाकाको भौतिक संरचनाको काम अघि बढाउने भनेर गरेको प्रतिबद्धता पूरा हुन सकेन। गत फागुनमा अर्थमन्त्रालयका तत्कालीन महानिर्देशक तोयम रायले २०७७ सालको वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माणको काम सुरु हुने बताएका थिए।
कोरला नेपाल र चीनको महत्वपूर्ण व्यापारिक नाका हो। चीनले सम्पूर्ण भौतिक संरचना तयार पारेको छ भने नेपालतर्फ अहिलेसम्म भौतिक पूर्वाधार निर्माणका लागि कुनै सुरसार गरिएको छैन।
नेपालले नाकामा आवश्यक सुरक्षा व्यवस्थाका साथै भन्सार, क्वारेन्टाइन लगायत एकीकृत संरचना विकास गर्ने तयारी बताइए पनि अहिलेसम्म सुरसार नहुँदा सरकारको यो योजना गफमै सीमित भएको छ।
कोरला नाका खुलेपछि गण्डकी प्रदेशको मात्रै नभएर नेपालको लागि नै सबै भन्दा छोटो र महत्वपूर्ण नाका हुने उपल्लो मुस्ताङ्गीहरुको विश्वास रहेको छ।कोरला नाकामा चीनले भने सम्पूर्ण अन्तरदेशीय संरचनाहरु निर्माण गरीसकेको छ। अहिलेसम्म नेपालतर्फ भने कुनै पनि संरचना निर्माण हुन सकेको छैन।
कोरला नाका भौगोलिक हिसाबले पनि चीनसंगको सबै भन्दा छोंटो र सुरक्षित नाका हुने स्थानीयले बताएका छन्। उपल्लो मुस्ताङको भूगोललाई राम्रोसंग बुझेका लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले नेपाल र चीनका लागि सबैभन्दा छोटो मानिएको तातापानी नाका भन्दा कोरला नाका निकै सुरक्षित र सहज भएको बताए। कोरला नाका संचालन भएपछि गण्डकी र ५ नम्वर प्रदेशमा चिनियाँ सामानहरु सस्तो र सुलभ हुने उनको भनाइ छ।
उपल्लो मुस्ताङका व्यापारीहरुका अनुसार गत वर्ष कोरला नाकाबाट नसोचेको परिमाणमा मुस्ताङी आलु चीन तर्फ निर्यात भएको छ। नाम बताउन नचाहने एक व्यापारीका अनुसार औपचारिक रुपमा व्यापारिक उद्देश्यले नाका नखुलेको भएपनि व्यवहारिक प्रयोजनका लागि सामानहरु ‘यताका उता र उताका यता’ ल्याउने लैजाने भने गरिएको छ।
व्यापारिक प्रयोजनका लागि मात्रै नभएको कोरला नाका संचालन पछि पर्यटन व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने बताइएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ र दामोदर कुण्ड मुस्ताङमा नै पर्ने हुँदा नाका खेलेपछि यहाँ चिनियाँ पर्यटक र तीर्थयात्रीहरु पनि बढ्ने विश्वास मुस्ताङवासीको छ। त्यसैगरी त्यही नाका हुँदै भारतीय तीर्थयात्री चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश मानसरोवर पुग्ने भएकाले भारतीय धार्मिक पर्यटकहरु पनि बढ्ने विश्वास उनीहरुको छ।
भौतिक संरचना निर्माणका लागि १ हजार ३ सय ४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए। लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका जनतालाई लक्षित गरेर वर्षको दुईचोटि नाका खुला गरेर अन्तरदेशीय व्यापार मेलाका नाम दिने गरिएको छ। तर,अन्तरदेशीय मेला भनिए पनि नेपालबाट भने कुनै पनि सामान चीनतर्फ पठाउने वातावरण भने अझै नबनेको स्थानीय व्यापारीहरुले बताएका छन्।