धौलागिरीका चार जिल्लाका स्थानीय तहमै पहिलोपटक जलजला गाउँपालिकामा भू-सेवा केन्द्र स्थापना भएको छ। स्थानीय तहबाट जनतालाई लिखित पारित,अंशवण्डा,राजिनामा, नामसारी लगायत जग्गा प्रशासन सम्ब्न्धि कामका लागि मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापनाको शुभारम्भ गरिएको छ ।

कार्यक्रममा भू–सेवा केन्द्रको उद्घटन गर्दै गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सदरमुकाम कुस्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवाहरु विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताए । ‘संविधानले स्थानीय तहलाई दिएको अधिकार विस्तारै कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,‘अब जिल्लामा पुगेर झन्झट बेहोर्दै आएका स्थानीयलाई सहज हुन्छ’ अध्यक्ष मल्लले भने।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानुन व्यवसायीमार्फत हुने भू–सेवाको काम स्थानीयतहबाटै हुने भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । उनले केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्र सहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने बताए ।

प्राविधिक सामाग्री सहित जनशक्तीको ब्यवस्थापन गरी भू–सेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा समेत प्रचारप्रसार गरिने बताए। अनलाईनमा भएको फारम भरेर प्रिन्ट गरी प्रमाणिकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाई छ। गाउँपालिकामा सेवा सुरु हुनु अगाडी कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि तालिम समेत दिइएको थियो । भू–सेवा केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply