सात दिनदेखि बेपत्ता म्याग्दीको मंगला गाउँपालिका-५,अर्मन टिकवाङका डोजर चालक अझै भेटिएका छैनन् । डोजरका मालिकसँग लेनदेनका लागि गत मंसिर महिनाको ३० गते बागलुङ गएका ३८ बर्षिय भिम बहादुर बिकले सम्पर्कबिहिन भएपछि खोजीकार्यका लागि परिवारले अपिल गरेका छन् ।

बागलुङमा डोजरका मालिकालाई भेटेर फर्किएपछि पर्वतको खनियाँघाटबाट कालिगण्डकी नदीमा हाम फालेको अपुष्ट जानकारी आएपनि खोजीकार्यको क्रममा झोला मात्रै भेटिएको बेपत्ता बिकका आफन्त मंगला गाउँकार्यपालिका सदस्य रत्न विश्वकर्माले बताए ।

‘घटना रहस्यमय छ,‘घटनास्थल आसपासका मान्छेको भनाईलाई आधार मानेर अनुसन्धान गर्नुपर्छ’ विश्वकर्माले भने ।
घटनाको निस्पक्ष अनुसन्धान, बेपत्ताको खोजीकार्यका लागि मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री सहितको टोली घटनास्थल भनिएको आसपासका स्थानीयसँग भेटघाट र प्रहरीमा खोजीकार्यका लागि निवेदन समेत दिएको विश्वकर्माले बताए ।

तीनदिनसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीकार्य गरेका थिए । ‘हतारमा देखिएका विक खोलामा हाम फालेको बताउँछन्,‘झोला खोलामा भेटियो,‘प्रत्यक्षदर्शीको भनाईमा उनलाई कसैले निगरानी गरेजस्तो गरेका थिए’ विश्वकर्माले भने ।

घरपरिवारको सम्पर्कमा नआएपछि खोजीकार्यको क्रममा खनियाघाँट आसपासबाट सम्पर्कविहिन भएपछि नियोजित घटना घटाइएको परिवारको आशंका छ । बेपत्ता विकले लामो समयदेखि डोजरमा काम गदैं आएका थिए । बेपत्ता भएका विश्वकर्माको मोटरसाईकल बागलुङमा भेटिएकाले पनि घटनाको निस्पक्ष छानविन हुनुपर्ने परिवारको माग छ । बेपत्ता चालकको ३ छोरा १ छोरी छन्।

Leave a Reply