पर्वतको फलेवास नगरपालिकामा ‘टनेल हाम्रो उत्पादन तपार्इंको कार्यक्रम’ शुरुआत भएको छ। फलेवास नगरपालिकाले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गरेको हो।      किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सेत सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम गरिएको हो। कार्यक्रम अन्तर्गत नगरपालिकाले स्थानीय किसानलाई रु एक हजार ५०० बराबरकोलागत साझेदारी गर्ने भएको छ।

किसानले प्रति टनेलमा रु एक हजार ५०० अनुदान पाउने व्यवस्था गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिए। नगरपालिकाले निश्चित मापदण्ड बनाएर टनेलका लागि आवेदन मागसमेत गरेको छ।

नयाँ कार्यक्रम भएकाले एक सूचना जारी गर्दै ३० दिनभित्र सूचना दिन माग गरेको हो। त्यसैगरी नगरपालिकाले ‘एक वडा एक पशु फार्म’ र यसका लागि आवेदन माग गरेको छ। प्रत्येक वडालाई कृषि, पशु, घरेलु उद्योगमा सक्रिय बनाउने उद्देश्यले अनुदानमा आधारित कार्यक्रमलाई जोड दिइएको उनले जानकारी दिए।

कार्यक्रमबाट आर्थिक अभावमा लगानी गर्न नसकेर बेरोजगार बनेका र विदेशवाट फर्किएका युवायुवती प्रत्यक्ष रुपमा लाभान्विन हुने नगरपालिकाको विश्वास रहेको छ। नगरपालिकाले कृषि फार्म सञ्चालन गर्न इच्छुक किसान तथा पशु फार्म सञ्चालन गर्न इच्छुक किसानबाट आवेदन माग गरेको हो। फार्मका लागि यस वर्ष रु १० लाख विनियोजन भएको छ भने कृषि फार्मका लागि पनि रु १० लाख विनियोजन भएको छ।

नगरपालिकाले हरेक फार्मका लागि ५० प्रतिशतसम्म लागत साझेदारी गर्ने जनाएको छ। फार्म सञ्चालन गर्नका लागि नगरपालिकाले निर्धारण गरेअनुसारको क्षेत्रफल वा सङ्ख्या अनुसारको पशुपालन गर्नुपर्ने छ। यसमा किसान समूह, कृषि सहकारी र निजी फार्मसमेत सहभागी हुनेसक्ने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए। रासस

Leave a Reply