बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल

नबोलाउ हातले
बरु बोलाउ पिपलु पातले
किरेमिरे जाले रुमाल

बेनीको बजार
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल

२०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको यो गीत अहिले पनि उत्तिकै चर्चित छ। यो गीतको बोल अरु धेरै गीतमा पनि राखेर ती गीतले चर्चा पाएका छन्। तर यो गीतका सर्जक र गायिका भने गायन क्षेत्रभन्दा धेरै टाढा गुमनाम छन्।
यो गीतका सर्जक हुन् टीकाबहादुर श्रेष्ठ र गायिका हुन् मन छन्त्याल। तर यो गीतसँग उनीहरुको नाम धेरै ठाउँमा जोडिएर आउँदैन। पछि रिमिक्स भएर आएका गीतमा उनीहरुको पहिचान जोडिएको छैन।

कसरी गायिका बनिन् मन छन्त्याल
वि.सं.२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन काठमाडौको राष्ट्रिय नाचघरमा मन छन्त्यालले समुहमा गीत गाएकी थिइन् । दिवसको अवसरमा सांगीतिक कार्यक्रमको लागि १४ वटा अञ्चलबाटै कलाकारहरुलाई काठमाडौ बोलाइएको थियो।  ‘हामी चाँही धौलागिरी अञ्चलबाट छानिएर गएका हौं’–मनले भनिन् ‘त्यहाँ हाम्रो समूहले यानीमायाँ, सालैजो, ठाडो भाकाका गीत गाएका थियौं।’ यो नै उनको सांगीतिक क्षेत्रको पहिलो पाइला थियो।

मनलाई म्याग्दीबाट काठमाडौ लगेका थिए टीकाबहादुर श्रेष्ठले । टीकाबहादुर म्याग्दीमा शिक्षण पेशामा थिए, सानैदेखि सांगितिक क्षेत्रसँग पनि नजिक थिए। काठमाडौमा कार्यक्रमको लागि कलाकार उपलब्ध गराउन धौलागिरी अञ्चलका अञ्चलाधिसले श्रेष्ठलाई पत्र लेखे।

‘गाउने र नाच्ने कलाकार चाहियो भनेर अञ्चलाधीशबाट हामीलाई पत्र आएको थियो। अञ्चलका चारवटै जिल्लाबाट कलाकार छान्नुपर्ने थियो’–श्रेष्ठले भने–‘कलाकारहरु छानेर अञ्चलाधीशकहाँ लैजानुपर्दथ्यो। त्यहाँ पनि गाउन लगाएर काठमाडौ लैजाने कलाकारहरु छानिन्थे।’

श्रेष्ठकै नेतृत्वमा मन छन्त्याल लगायत अरु जिल्लाका गरी १२ जना जतिको टोली काठमाण्डौ पुगेर नाचघरमा आफ्ना कला  प्रस्तुत गरेको थियो। त्यो भन्दा पहिले खासै गित नगाएकी मन छन्त्यालले त्यसपछि म्याग्दीमा स्कुलका केही कार्यक्रममा गीत गाइन्।

२०२१ साल र २०२५ सालमा पनि प्रजातन्त्र दिवसको अवसरमा गीत गाउन मन छन्त्याल टीकाबहादुर श्रेष्ठ सहितको टोलीसँग काठमाडौ गइन्।

टीकाबहादुर श्रेष्ठसँगको मन छन्त्यालको सम्बन्ध पनि घनिष्ठ हुँदै गयो। अन्तत २०३१ सालमा छन्त्याल र श्रेष्ठले विवाह गरी दाम्पत्य जीवन सुरु गरे।

विवाह पछिको एक डेढ वर्ष उनी काठमाडौमै बसेकी थिइन्। एक ठाउँमा सिलाइकटाइ सिक्दै थिइन्। सिलाइकटाइ सिकेको ठाउँमा मनको माया लामासँग भेट भयो।

माया बेलाबेलामा रेडियो नेपालमा गीत गाउन जाने गर्थिन्। ‘म पनि मायासँग रेडियो नेपालमा गएकी थिँए। त्यहाँ स्वर परिक्षा दिन मान्छेहरु आइरहने रहेछन्’–मन सम्झिन्छिन्–‘स्वर परीक्षा पास भएमा गीत रेकर्ड गर्न पनि पाइने रहेछ, मैले पनि स्वर परिक्षा पास गरें।’ स्वर परीक्षा पास गरेपछि उनले पनि गीत रेकर्ड गराइन्।

२०३१ सालमा मनले रेडियो नेपालमा रेकर्ड गरेको गीत थियो ‘बेनीको बजार जता माया उतै छ नजर…..।’
रेकर्ड भएपछि रेडियो नेपालबाट यो गीत त्यस बेला निकै बज्यो। धेरैले मन पनि पराए।

‘रेडियोबाट दिन दिनै त्यो गीत जसो बज्थ्योे। मलाई त आफैलाई आफ्नो स्वर खासै राम्रो लाग्थेन। मान्छेले पनि खै किन रुचाएछन्।’ उनी खुशी त भइन् तर उनलाई लाज पो लाग्यो।

गायिका मनले भनिन्–‘रेडियोबाट गीत सुन्दा आफैलाई लाज लागे जस्तो हुन्थ्यो।’ गीतको संकलनकर्ता उनका श्रीमान टीकाबहादुर श्रेष्ठ नै हुन्। बेनीको बजार गीत रेकर्ड गराएवापत मनले ३५ रुपैयाँ पाएकी थिइन्। ‘गीतको पारिश्रमिक पाउन पनि धेरै धाउनुपरेको थियो।’–उनले सम्झिन्।

‘बेनीको बजार’ पछि मनले ८–९ वटा गीत गाएर रेडियो नेपालमा रेकर्ड गराइन्। एउटा छन्त्याल भाषाको गीत, फूलको माया गाँसेर मायालाई….., फूलबारीमा फूल फूल्यो बोलको, सालैजो भाका लगायतका गीत उनले रेकर्ड गराइन्। तर बेनीको बजार धेरैको मुख मुखमा झुण्डिने गीत बन्यो।

काठमाडौमा एक डेढ वर्ष बसेपछि मन बुटवल झरिन्। परिवार सहित तामनगरमा बसिन्। यता आएपछि भने उनको सांगीतिक यात्रा अघि बढेन।

‘आर्थिक अवस्था खासै राम्रो थिएन, त्यसबेला गीत गाएर मात्र बाँच्न सक्ने अवस्था पनि थिएन’–उनले भनिन्–‘व्यापार व्यवसाय गर्नुपर्यो। बालबच्चा हुकाउन पर्यो।’

धेरै गीत रेकर्ड नगरेपनि उनलाई पुरानो पुस्ताको गायिकाको रुपमा धेरैले सम्मान गरे। बुटवलका सुरुवात ताकाका मेला महोत्सवमा हुने सांगितीक प्रतियोगितामा मन निर्णायक पनि बसिन्।

‘कान्ति स्कुल, सडक विभागतिर मेला हुँदा प्रतियोगितामा महिला निर्णायक खोजेका थिए। महिला अरु नभएर दुइ तीन वर्ष जति मलाई राखेका थिए’–उनले भनिन्–‘पछि धेरै कलाकार आए। उनीहरुले पनि खोजेनन् म पनि गइन।’

तीजका प्रतियोगिताहरुमा चाँहि छन्त्याल पछिसम्म पनि निर्णायक बस्ने  गर्थिन्। साथै स्कुलमा हुने कार्यक्रमहरु पनि सहभागी भइन्।

मन छन्त्यालको बेनीको बजार गीत लोकप्रिय भएपछि रिमिक्स भएर पनि निस्कियो। ‘एक जनाले त हामीसँग अनुमति लिएरै रिमिक्स गरे। त्यसमा विमाकुमारी दुरासँगै मेरो पनि आवाज राखिएको छ’–उनले भनिन्–‘त्यसबाहेक अरु कति धेरै गीत रिमिक्स भएर आएका रहेछन्।’

आफूले अनुमति दिएर रिमिक्स भएको गीतबाट पनि उनले कुनै प्रतिफल भने पाइनन्।

पूरानो गीत फेरि निकाल्न खोजेछन् ठीकै छ भनियो, अहिले त आफ्नो कलाको धेरै महत्व रहेछ भन्ने लाग्यो’–मनले भनिन्–‘रोयल्टी पनि पाइने अवस्था रहेछ, हामीलाई थाहा थिएन। रोयल्टी खोज्दै पनि हिडिएन, उनीहरुले पनि आउ भनेनन्।’
गीत मार्फत म्याग्दी र बेनीबजारलाई चिनाएको भन्दै मन छन्त्याल र टीकाबहादुर श्रेष्ठलाई सम्मान गर्न बेनी बोलाइयो।

म्याग्दी जेसिज र म्याग्दी व्यापार संघले बेनीमा महोत्सवको आयोजना गरेका थिए। छन्त्याल र श्रेष्ठ मञ्चमा बस्दा बेनीको बजारको रिमिक्स गीत बज्यो। छन्त्याल अचम्मित भइन।

‘अर्कैको स्वरमा गीत बजेपछि मेरो गीत होइन भनें। मैले गाएको गीतको त्यहाँ कुनै चक्का थिएन। बमबहादुर कार्की र खड्क गर्बुजा पनि महोत्सवमा पुग्नुभएको थियो’–उनले सम्झिइन्–‘उहाँहरुले रेडियो नेपालमा फोन गरेर मेरो स्वरको गीत बजाउन भन्नुभयो। त्यसपछि महोत्सवमा मैले गाएको गीत बजेको थियो।’

आयोजकलाई पनि कुन गीत सक्कली हो कुन गीत रिमिक्स हो थाहा नभएको मनका श्रीमान टीकाबहादुर श्रेष्ठले बताए।
‘मनकै स्वर हो भन्ने लागेछ के रे, हामीले रिमिक्स गित हो भनेर भन्यौ’ –उनले भने।

गीत चर्चाको शिखरमा पुगेको भएपनि मनले पहिले चाहेको समयमा आफ्नो गीत सुन्न पाइन्नथ्यो। अचेल भने कहिलेकाँही आफ्नोे नातीले उनको गीत सुनाइ दिन्छन्।

‘युट्युबबाट सर्च गरेर नातीले गीत लगाइदिन्छ, यो हजुरको गीत भन्छ’–उनले सुनाइन।

मन छन्त्याललाई सांगीतिक रुपमा चिनाउन श्रीमान् टीकाबहादुर श्रेष्ठको पनि ठूलो योगदान छ।
श्रेष्ठ आफै पनि सांगीतिक क्षेत्रसँग नजिक छन्। धेरै बाजा उनले बजाउन जानेका छन्।

तबला, हार्मोनियम, लगायतका थुपै बाजा श्रेष्ठले घरमा राखेका छन्। म्याग्दीमा अस्थायी शिक्षक भएर पढाएका उनी बुटवल झरेर निजी विद्यालयहरु चलाए।

मिर्गौला सम्बन्धी समस्याले अहिले निरन्तर डायालासिस गरिरहेका छन् । मन छन्त्यालले जिवनमा धेरै गीत त गाइनन् तर एउटै गीत बेनीको बजारले उनलाई पुरानो पुस्ताकी गायिकाको रुपमा परिचित गरायो।

‘अहिले जस्तो समय भएको भए निरन्तर लागिन्थ्यो होला। तर पनि खासै पछुतो छैन, एउटा गीतले भए पनि केही चिनिने मौका पाएँ, सन्तुष्ट छु’–उनले भनिन्। Copyright: www.lumbinitimes.com