म्याग्दीको मालिका गाउँपालिका-१, निस्कोट जुवाङमा बेसहारा जस्तै बनेका दुई बालबालिकाको संरक्षण जिपी फाउण्डेशन अमेरिकाले लिएको छ।  जन्मदिने आमाले दोस्रो विवाह र बुबा दुबै मृगौलामा खरावी आएपछि बिचल्लीमा परेका ३ बर्षिय धिरन, ८ बर्षिया ज्ञानु पुनको शिक्षादीक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको आवश्यक खर्च उपलब्ध गराउने गरी जिपी फाउण्डेशनले जिम्मा लिएको हो ।फाउण्डेशनले स्वर्गिय अमर तामाङको स्मृतिमा उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको जिम्मेबारी लिएको जिपी फाउण्डेशन अमेरिकाकी महिला संयोजक दावा शेर्पाले बताईन्।‘बालबालिकाको पढाईको सम्पूर्ण जिम्मेबारी फाउण्डेशनले लिन्छ,‘म्याग्दीका विपन्न बालबालिकालाई सहयोग गर्ने अवसर मिल्यो’ शेर्पाले भनिन् ।

जिपी फाउण्डेशनमार्फत नेपालमा सामाजिक,मानवीय सेवाका साथै अनाथ र अलपत्र परेका बालबालिकालाई शिक्षादीक्षामा समेत सहयोग गर्ने गरिएको छ । फाउण्डेशनको तर्फबाट इसारा लामाले निस्कोटका स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी दरबाङको केबी एकेडेमीमा कक्षा १० सम्म मासिक १५ हजार उपलब्ध गराउने सम्झौता समेत गरेको बताए ।

सोमबार दरबाङमा आयोजित कार्यक्रममा फाउण्डेनको प्रतिनिधिका रुपमा पुगेका लामाले लत्ताकपडा, आवासीय सुविधाका लागि बेड उपलब्ध गराउने गरी १० हजार समेत विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

स्थानीय चित्रबहादुर पुन बैदेशिक रोजगारीमा रहेको अवस्थामा श्रीमतिले विवाह गरेर अन्यत्रै गएपछि सहाराविहीन बनेका ८१ बर्षिय बृद्धको भरमा नाबालक बालबालिका रहेको समाचार पहिलोपटक बेनीअनलाइनले सार्वजनिक गरेको थियो ।

पारीवारिक अवस्था अत्यन्तै नाजुक रहेको अवस्थामा ज्ञानु पुनको नाममा दरबाङको गरिमा विकास बैंकमा खाता खोलिएकोमा अहिलेसम्म १ लाखभन्दा बढी रकम जम्मा भएको छ भने निस्कोटबाट विदेशमा रहेकाले संकलन गरेको सहयोग जम्मा हुने क्रम जारी रहेको छ ।

उक्त सहयोग रकम ज्ञानु र धिरनको नाममा संयुक्त खातामार्फत मुद्धतिमा राखेर उच्च शिक्षासम्मको खर्च ब्यवस्थापन गरिने छ ।बालबालिकाका बुबा चित्रबहादुर मृगौलाको डायलासिसका लागि पोखरामा छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारर्थ उनको डायलाइसिस र प्रत्यारोपणका लागि करिब २० लाख लाग्ने अनुमान गरिएको छ । हालसम्म उनको करिब ३ लाख खर्च भइसकेको छ ।

 

Leave a Reply