म्याग्दीको मालिका गाउँपालिका-२ रूममा बुधबार सञ्चालित निःशुल्क पाठेघर शिविरबाट करिब डेढ सयको हाराहारीमा महिला लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेका पाठेघर (आङ) खस्ने समस्याको स्क्रिनिङ साथै अन्य प्रजनन समस्या सम्बन्धि एक दिने शिविरमा वडाभित्रका १ सय ४६ जना महिलाले सेवा लिएका थिए।

शिविरमा चेकजाँचबाट ४ जना महिलाको पाठेघरमा प्रारम्भिक क्यान्सर २ जना महिलाको पाठेघरमा मासु पलाएको र ६ जनाको पाठेघर झरेको अवस्थामा भेटिएको गाउँपालिका स्वास्थ्य संयोजक सन्तुकुमारी कार्कीले जानकारी दिईन् । शिविरमा प्रारम्भिक क्यान्सरको जोखिममा रहेका महिलालाई थप उपचारका लागि रिफर गरिएको संयोजक कार्कीले बताईन् ।

ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ बिटालुले बताईन् ।‘जनचेतनाकै अभावले धेरै महिला पाठेघरको समस्याबाट पीडित हुनुहुन्छ,‘वडास्तरमै पुगेर शिविरमार्फत रोगको पहिचान गछौं’ उपाध्यक्ष विटालुले भनिन् ।

महिलामा सबैभन्दा जटिल समस्या नै पाठेघरको भएपनि नियमित चेकजाँचका ध्यान नदिदाँ समस्या विकराल बन्दै गएको उपाध्यक्ष विटालुको भनाई छ । महिलामा पाठेघर खस्नु, सङ्क्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेर बच्चा जन्माउनु चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनु लगायतका कारण रहेको स्वास्थ्यकर्मीको भनाई छ । शिविरमा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङका डा. प्रशान्त सागर यादव, रुम स्वास्थ्य चौकीका अहेव विरबहादुर पुन लगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।

Leave a Reply