प्रधानमन्त्री केपी शर्मा ओलीले महिला वालवालिका तथा समाजकल्याण मन्त्री थममायाँ थापा र जनसंख्या तथा वातावरणमा लालबाबु पण्डितलाई सपथ खुवाउँदै प्रारम्भिक मन्त्रिपरिषद्को विस्तार गरे ।

प्रतिनिधि र प्रदेशसभामा पहिलो दल बनेको तत्कालिन नेकपा एमालेबाट प्रधानमन्त्री ओलीको पहिलो रोजाईमा परेका पण्डित सामान्य प्रशासनमन्त्री भइसकेका थिए भने थापाको मन्त्रीपरिषद्मा पहिलो इन्ट्री थियो ।

पण्डितले सामान्य प्रशासनमन्त्री हुँदा विदेशी डीभी पीआर लिने कर्मचारीलाई कारबाही गर्ने साहसिक निर्णयकै कारण दोस्रोपटक अवसर पाएपनि थापाले भने प्रधानमन्त्री ओलीको निकट भएकै कारण अवसर पाएको चर्चा गरियो । ओली लाइनबाट उपाध्यक्ष बनेकी विद्यादेबी भण्डारी राष्ट्रपति भएपछि ओली लाइनमा महिलाको नेतृत्व नै थापाले गरेकी थिईन्।

तत्कालिन नेकपा एमालेको पोलिटब्युरो सदस्यसँगै महिला संगठन अनेमासंघको विवादमा समेत थापाको भूमिका निर्णायक जस्तै थियो। प्रधानमन्त्री ओली निकट नेताहरूको सूचीको अग्रपंक्तीमा खटिने पूर्वमन्त्री थापा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएसँगै मौन छिन् ।

पार्टी विभाजनको मुखमा पुग्दा एकताको पक्षमा सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गरेपछि भएका ओली निकटका भेलाहरूमा उनको अनुपस्थितीलाई निकै महत्वपूर्ण साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशमा आयोजना गर्ने प्रशिक्षण भेलामा बक्ताको रुपमा समेत थापाको नाम छैन् भने केन्द्रीय सदस्य थप तथा भेलामा समेत उपस्थिति नभएकाले थापाले तत्काल कित्ता क्लियर नगर्ने उनी निकट स्रोतको भनाई छ ।

गृह जिल्ला म्याग्दीको भ्रमणको क्रममा धौलागिरी आइसफलसम्म पुगेर फर्किएकी थापा अस्वस्थ भएकै कारण पार्टीका भेलामा जान नसकेको ओली निकट स्रोतले बताएपनि थापाका निकटले भने पार्टी विभाजनको केही समय तटस्थ बस्ने जनाए। पूर्वमन्त्री थापा अन्तिम समयमा ओली लाइनमा खुल्ने ओली पक्षको दावी छ ।

प्रधानमन्त्री ओलीले थापा सहित केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री थप गर्ने क्रममा समेत सार्वजनिक रुपमै कुनै असन्तुष्टी ब्यक्त नगरेको र सरकारलाई बिना अवरोध ५ बर्ष चल्ने दिनुपर्ने अडान लिने नेकपाको नेतामा थापा समेत हुन्। ‘थममायाँ तटस्थ बस्दा हामीलाई सजिलो हुन्छ,‘उहाँसँग सम्पर्कमै छौ’ एक प्रचण्ड–नेपाल निकट नेताले भने । यता ओली निकटका नेताहरूले समेत  भेटघाट समेत भएको बताएका छन् ।

निर्वाचन आयोगले पार्टीको विभाजनको अन्तिम नतिजा सार्वजनिक गरेपछि नेकपामा केही केन्द्रीय नेताहरुले समेत लाइन क्लियर गर्ने अवस्था रहेको छ । ओली निकट गण्डकी प्रदेशमन्त्री नरदेवी पुन केन्द्रीय सदस्यमा चयन भएपछि म्याग्दीमा विभाजनको तरङ्ग पेचिलो बन्दै गएको अवस्थामा प्रभावशाली नेता थापा नै मौन बस्दा ओली समुह समेत निराश छ ।

प्रदेशमन्त्री पुन पश्चिम म्याग्दी र पूर्व मन्त्री थापाले उत्तरी क्षेत्र प्रभावित क्षेत्र हो । पूर्वमन्त्री थापाको सचिवालयमा रहेका पश्चिम म्याग्दीका काठमाण्डौमा बस्ने केही नेताहरू खुलेर प्रचण्ड-नेपाल लाइनमा देखिएका छन् ।

उनीहरूले पश्चिम क्षेत्रबाट ओली लाइनमा जान रोक्न आवश्यक कसरत समेत गरेको देखिन्छ भने ओली समुहले समेत आफ्नो रणनीति बनाउन सुरू गरेको छ । जिल्लास्तरका केही नेता तथा स्थानीयस्तरमा जनप्रतिनिधि समेत चुनाव चिन्ह ‘सूर्य’को छिनोफानो भएपछि सार्वजनिक हुने पक्षमा छन् ।

म्याग्दीमा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपालको स्थानीय तहमा शक्ती नाप्ने समेत जिल्ला, प्रदेश र केन्द्रीय कमिटीमा रहेका नेताहरु खुल्न पर्ने जानकारहरु बताउँछन् । पार्टी विभाजन भएको अवस्थामा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले समेत मुख खोलेका छैनन् । केन्द्रीय सदस्य समेत रहेका सांसद थापा कुन पक्षमा जान्छन् भन्नेमा पनि धेरैको चासो छ ।

Leave a Reply