म्याग्दी जिल्लाको ६ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ । म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा विस्तार गरिएको हो ।

टेलिकमको फोरजी इन्टरनेट सेवालाई द्रुत गतिको इन्टरनेटका रुपमा चल्ने समेत भनेर चिनिन्छ । देशको सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुसार फोरजी सेवालाई अगाडि बढाइएको छ । हिमाली जिल्ला म्याग्दीको ६ वटै (सबै) स्थानीय तहमा इन्टरनेटको फोरजी सेवा विस्तार गरिएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।

विद्युत सेवा पुगेको सबै ठाउँमा नेपाल टेलिकमको फोरजी सेवा पु¥याइएको टेलिकम म्याग्दीका कार्यालय प्रमुख विष्णुदेव शाहले जानकारी दिएका छन् । उनका अनुसार विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा सञ्चालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा सञ्चालन गरिने तयारी भैरहेको जनाइएको छ ।

विद्युत सेवा नपुगेका दुर्गम र विकट ठाउँमा पनि फोरजी इन्टरनेट जडानको क्रममा रहेको कार्यालय प्रमुख शाहले बताए । विद्युतीकरण भएको ठाउँ तथा टेलिकमको बिटिएस निर्माण गरिएको ठाउँमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने बाँकी ठाउँमा संरचना निर्माणका साथै फोरजी जडानको क्रममा रहेको टेलिकम प्रमुख शाहको भनाइ छ ।

वाईम्याक्स जडान भएको ठाउँमा फोरजी सेवा सञ्चालन भएपछि वाईम्याक्सलाई फोरजी इन्टरनेटले रिप्लेस गरेको टेलिकमका सूचना अधिकारी वसन्त पुरीले बताएका छन् । इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको टेलिकमले दावी गरेको भए पनि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा भने विद्युतीकरण पुगिनसकेको हुँदा सञ्चालन भएको छैन ।

त्यहाँ विद्युत पुग्दाबित्तिकै फोरजी सेवा चलाउने टेलिकमले जनाएको छ । फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेटका रुपमा मानिन्छ । विदेशी मुलुकहरुमा फाइजीलगायत सेवाको सुरुवात भैसक्दा नेपालमा भने बल्ल फोरजी सेवा सञ्चालन गर्न लागिएको हो ।

यसैबीच चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि मंसिर मसान्तसम्म म्याग्दी जिल्लामा फाइरबर टु दि होम (एफटिटिएच)का १ सय ९५ जना र ल्याण्डलाइन टेलिफोन अर्थात् भ्वाइस प्याकका ५१ जना नयाँ ग्राहकहरु थपिएका छन् । त्यस्तै जिएसएम पोष्टपेडतर्फ ९० र जिएसएम प्रिपेडतर्फ ७ सय २४ जना ग्राहक थपिएको टेलिकमका सूचना अधिकारीपुरीले बताए ।

यसैगरी सिडिएमए स्काइतर्फ प्रिपेडका ६ र पोष्टपेडका २ जना ग्राहक थपिएका छन्भने एफटिटिएचतर्फ हालसम्म कुल ८ सय ७३ र भ्वाइस प्याक ग्राहक कुल १ हजार ६९ जना रहेको टेलिकम म्याग्दीको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म जिल्लाको कुल ९० हजार ३१ जना अर्थात् ८० प्रतिशत जनसङ्ख्या सञ्चार सेवाको पहुँचमा पुगेको तथ्याङ्क छ ।

Leave a Reply