रघुगङ्गामा गाउँपालिकाको ९ औँ गाउँसभामा पालिकास्तरीय अस्पताल निर्माण गर्ने स्थान विवादमै केन्द्रित भएको छ । बिहिबारदेखि सुरु भएको गाउँसभामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक स्थानीय तह एक अस्पताल कार्यक्रम अन्तर्गत रघुगङ्गालाई उपलब्ध गराएको १० शैयाको अस्पतालको स्थान छनौटमा अल्झिएको हो ।

डेढ वर्षअघि नै छनौट भएको वडा नं १ बेगखोला, गाउँपालिकाको केन्द्र मौवाफाँट र पिप्लेमा राख्ने विषयमा गाउँसभामा छलफल सुरू भएको जनाइएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैय्याको अस्पताल बनाउने निर्णयसँगै उत्पन्न विवादलाई गाउँसभाबाटै टुङ्गो लगाउने अध्यक्ष भवबहादुर भण्डारीले बताए।

‘सम्मानित सभाबाट हुने निर्णय अनुसार नै अस्पताल बन्छ,‘एक ठाउँमा अस्पताल बने अपायक पर्ने ठाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी बन्छ’ अध्यक्ष भण्डारीले भने । उनले अस्पताल छनौट तथा थप स्वास्थ्यका योजना माग्न मन्त्रालयसम्म पुगेर आएको बताउँदै अस्पताल बन्ने स्थानको छनौटमा जनतालाई विभाजित नगराउन समेत अपिल गरेका छन् ।

गाउँसभामा अन्य वडाभन्दा पनि वडा नं १ र ३ नं वडाले अस्पताल दावी गरेकाले शुक्रबार सम्पन्न हुने गाउँसभाले अस्पताल बनाउने स्थानको टुंगो लगाउने प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए । ‘सर्वसम्मति नभए जनप्रतिनिधि बिच मत नै हालेर भएपनि यो विवादको किनारा लगाउँछौ’ सुबेदीले भने ।

गाउँसभा सुरु हुनु अघि पिप्लेका स्थानीय मन्त्रालयबाट पिप्ले भनेर पत्र समेत आएको भन्दै पिप्लेमा नै अस्पताल बनाउनु पर्ने भन्दै बिरोध गरेका थिए ।  पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्लले बेगखोलामा बनाउने विषयमा कुनै विवाद नभएको बताउँदै फरक–फरक प्रस्तावले जनता अलमलमा परेको आरोप लगाएका थिए ।

यता बेगखोलाका वडा अ अध्यक्ष बिलबहादुर फगामीले डेढबर्ष अगाडी नै बेगखोला भनेर आएको योजनालाई बेगबासीले दावी मात्रै नगरी आवश्यक ९ रोपनी जग्गा समेत तयार गरेको बताउँदै अस्पताललाई समयमै सम्पन्न गर्ने गरी योजना बनाएको बताए ।

‘बेगबासीले अन्य वडामा गएका ठूला योजनाको बिरोध गरेका छैनन्,‘बेगखोलामा अस्पताल बनेपछि अन्य पूर्वाधारहरु समेत जोडिन्छ, स्थानीयले अस्पताललाई ठूलो लगानी गरेका छन्’ वडा अध्यक्ष फगामीले भने ।

१० करोड भन्दा बढी लागत अनुमान गरिएको अस्पतालको भवन बनाउन मन्त्रालयले चालु आर्थिक वर्षमा ८३ लाख रुपैयाँ बजेट समेत पठाएको छ । बेगका जनप्रतिनिधि, राजनीतिकर्मी, अगुवाले बेगमै अस्पताल बनाउनुपर्ने मागसहित निर्णय सच्चाउन गाउँपालिकालाई कात्तिक २७ गते ज्ञापनपत्र बुझाएका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बेग स्वास्थ्य चौकीको भवन पुनःनिर्माण गर्न एक करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिसकेकाले अस्पताल बेगमै बन्ने भएपछि उक्त योजना स्वास्थ्य चौकी नभएको झिँ र चिमखोलामध्ये कुनै एक ठाउँमा लैजाने गाउँपालिकाको तयारी छ ।

यता मौवाफाँटमा पालिकाको कार्यालयसँगै अस्पतालको पनि भवन बनाउन बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पारिसकेको त्यहाँ समेत अर्को अस्पताल बनाउन आवश्यक स्रोतसाधन र बजेटको प्रक्रियालाई समेत अगाडी बढाउने गाउँपालिकाको योजना रहेको छ ।

गाउँसभाको उद्घाटन सत्रमा उपाध्यक्ष कमला तिलिजा संगै सबै वडाका अध्यक्षले आफ्नो प्रतिक्रिया राखेका थिए । गाउँपालिकाले दुर्गम र स्वास्थ्यको पहुँच नपुगेका स्थानमा सामुदायिक स्वास्थ्य एकाइ र गाउँघर क्लिनिक स्थापना गरी जनतालाई सेवा दिइरहेको छ ।

यसैबीच गाउँसभामा सहभागि एक जनप्रतिनिधिले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार अस्पतालको स्थान छनौटमा पिप्ले, मौवाफाँट र बेग मध्ये एक ठाउँका लागि भइरहेको विवादको किनारा भोटिङबाटै हुने निश्चित छ । उक्त प्रक्रियामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहभागि हुने छैनन् ।

Leave a Reply