महासंघ गण्डकी प्रदेशको कोषाध्यक्षमा म्याग्दीका कर्माचार्यको उम्मेदवारी

0
188

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको दोस्रो महाधिवेशनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यही पुस ११ गते शनिबार पोखरामा हुन भइरहेको महाधिवेशनमा कर्माचार्यले कोषाध्यक्षमा उम्मेदवारी घोषणासँगै अभियानमा जुटेका छन् ।

गण्डकी प्रदेशभित्र निजी क्षेत्र बाहेक पर्यटन, पूर्वाधार तथा विभिन्न सामाजिक र मानवीय सेवामा सक्रिय रहेको म्याग्दी उवासंघले अध्यक्ष कर्माचार्यलाई कोषाध्यक्षमा अगाडी सारेको छ । ‘मैले कोषाध्यक्षमा उम्मेदवारी पक्का गरेको छु,‘मेरो नाममा सर्वसम्मति हुने छ,‘चुनावभन्दा सहमतिबाटै नेतृत्व चयनको पहल जारी छ’ कर्माचार्यले भने ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पनि महासंघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि वर्तमान अध्यक्ष सञ्जिब कोइरालाले आफू अझै एक कार्यकालका लागि निर्विरोध हुने दावी गरेपछि नेतृत्वमा घम्साघम्सी हुने देखिएपनि म्याग्दी उवासंघले गरेको दावीमा अन्य जिल्लाबाट समेत समर्थन देखिएकाले सहज हुने बताइएको छ ।

महासंघको केन्द्रमा खुल्लातर्फ केन्द्रीय सदस्यमा म्याग्दीकै कुविरकुमार श्रेष्ठ छन भने प्रदेशमा समेत पदाधिकारीमै म्याग्दीको उपस्थितीले काम गर्न समेत सहज हुने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका कर्माचार्य २०६० सालमा कार्यसमिति सदस्यमा मनोनित, २०६३–६५ मा सहसचिव, ६५–६८ मा सदस्य र ६८–७१ मा द्धितिय उपाध्यक्ष, ०७१–७४ मा प्रथम उपाध्यक्ष हुदै अध्यक्ष सम्हालेका थिए ।

महासंघको प्रदेश कार्यसमितिमा अध्यक्ष, जिल्ला नगर उपाध्यक्ष एक जना, वस्तुगत उपाध्यक्ष एक जना र कोषाध्यक्षसहित १६ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । महासंघको निर्वाचनमा एशोसिएट ३५, जिल्ला तथा नगररबानट १६ र वस्तुगतबाट तीन मतदाता सहभागी हुँदैछन् ।