सुन्तला पाकेर बजार पठाउन तयारी भएको समयमा कीरो परेपछि पर्वतका सुन्तला भण्डारका रूपमा चिनिएको जलजला गाउँपालिका–१ बाँसखर्कका किसान चिन्तामा छन् । माघको पहिलो सातादेखि बिक्रीका लागि बजार पठाउने तयारी भइरहेका बेला बोटमै कुहिएर सुन्तला झर्न थालेका हुन् ।

उत्तर मोहडामा फैलिएको बाँसखर्क सबैभन्दा ढिलोसम्म बोटमै सुन्तला रहने ठाउँ हो । यहाँ माघ शुरु भएपछि मात्रै सुन्तला पाक्छ । यस पटक भने पाक्ने बेलामा पहेँलो हुँदै झर्न थालेपछि किसान वर्षभरिको आम्दानी गुम्ने चिन्तामा छन् । “बढी पहेँलो भएको गेडो छिट्टै झरेको छ”, अगुवा किसान जगतबहादुर खत्रीले भन्नुभयो, “कोट्याएर हेर्दा भित्र कीरैकीरो छन् ।”

बारीभरि पहेँलै भएर झरेका सुन्तला सङ्कलन गरेर खाडलमा पुर्ने गरेको खत्रीले बताउनुभयो । उहाँले वर्षेनी रु ६ देखि आठ लाखसम्मका सुन्तला बोटबाटै बेच्नुहुन्छ । बर्षेनी रु पाँच लाखका सुन्तला बिक्री गर्ने चन्द्रकुमारी भण्डारीले पनि पाक्ने बेलामा देखिएको यस्तो समस्याले आम्दानी चौपट हुने चिन्ता लागेको सुनाउनुभयो । “धान फल्ने खेत मासेर सुन्तला लगाएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तला उठाउँदै खाल्डोमा पुर्नु परेको छ ।” मल, काँटछाँट र बगैँचा व्यवस्थापनमा बर्षेनी लाखभन्दा बढी खर्च हुने भण्डारीले बताउनुभयो । लगानी मात्रै नभएर वर्षभर कमाई खाने बाटो पनि बन्द हुने अवस्था आएको बताउनुभयो ।

बाँसखर्कमा वर्षेनी रु साढे तीन करोडसम्मको सुन्तला उत्पादन हुन्छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बजारमारे सुन्तला उत्पादन सहकारी स्थापना गरिएको छ । सहकारीले घरैबाट सुन्तला टिपेर काठमाडौँदेखि चितवनसम्मका बजार पु¥याउँदै आएको छ । सुन्तला बिक्रीबाटै आएको आम्दानीको केही प्रतिशत रकमले सहकारीको खर्च धानिएको थियो । “यसपालि बाक्लो फलेको देखेर खुशी थियौँ”, सहकारीका अध्यक्षसमेत रहनुभएका खत्रीले भन्नुभयो, “मङ्सिरदेखि झर्न थालेको हो । पाकेका सुन्तला झरेपछि आम्दानीको बाटो सुक्ने चिन्ता बढ्दै गएको छ ।”

सुन्तला झरेपछि सहकारीको आम्दानीसमेत घट्ने उहाँले बताउनुभयो । किसानले सुन्तला बेचेबापत प्रतिकिलो रु पाँचका दरले सहकारीमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बाँसखर्कसहित म्याग्दी र बागलुङका केही गाउँ समेटेर गत वर्षदेखि सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ । बाँसखर्कसहित म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मालिका गाउँपालिका, बागलुङको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकासहितका सात स्थानीय तहका ५२ वडा समेटेर जोन कार्यान्वयन भएको हो । जोनमा समेटिएको भए पनि सुन्तला झर्ने समस्या समाधान नभएको वडाध्यक्ष तुलसीराम शर्मा रेग्मीले गुनासो गर्नुभयो ।

“जोनले केही माखो मारेन”, रेग्मीले भन्नुभयो, “पहिला ब्लक हुँदा सानातिना समस्या समाधानलाई पैसा आउँथ्यो । अहिले त्यै पनि हरायो । बारीभरि सुन्तला झरेर बिजोग भएको छ । जोनलाई धेरै भन्यौँ । तर सुनुवाइ भएन ।” पाक्ने बेलामा कीरो लागेर झर्ने समस्या समाधान गर्न तत्काल सम्भव नभएको सुन्तला सुपरजोनका प्रमुख सुधीर थापाले बताउनुभयो । मोदी गाउँपालिका–२ को देउपुरमा समेत गत वर्षदेखि देखिएको हाँगा कुहिने रोगको समस्या समाधान भएको छैन

Leave a Reply