जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा इन्टरनेटको चौंथो पुस्ता अर्थात् फोरजी सेवा विस्तार गरिएको हो ।
बेनी नगरपालिकाको क्याम्पसचोक, टेलिकमको आफ्नै कार्यालय, गलेश्वर तथा पुलाचौरमा रहेको मोबाइलको बिटिएस टावरमा इन्टरनेटको फोरजी सेवा जडान गरी सञ्चालनमा ल्याइएको छ ।
यसैगरी मंगला गाउँपालिकाको बराङ्जाको आल्डाँडा र झाँक्रीपानी, मालिकाको देवीस्थानस्थित रुन्मा, ओखरबोट, बिम र धवलागिरिको ताकममा रहेको बिटिएसमार्फत फोरजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।
त्यस्तै रघुगंगा गाउँपालिकाको टोड्के र पाखापानी तथा अन्नपूर्णको राम्चेमा रहेको बिटिएस टावरमा पनि फोरजी इन्टरनेट जडान गरी सञ्चालनमा आएको टेलिकम कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो ।
फोरजी इन्टरनेटलाई द्रुत गतिको इन्टरनेटका रुपमा चिनिन्छ । देशको सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुसार फोरजी सेवा विस्तारलाई अगाडि बढाइएको हो ।
म्याग्दीका सबै स्थानीय तहमा इन्टरनेटको फोरजी सेवा पुगेपछि स्थानीय खुशी भएका छन् ।
विद्युत सेवा पुगेको ठाउँमा नेपाल टेलिकमको फोरजी सेवा पुर्याइएको कार्यालय प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा सञ्चालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा सञ्चालन गरिने तयारी भैरहेको छ ।
विद्युत सेवा नपुगेका दुर्गम र विकट ठाउँमा पनि फोरजी इन्टरनेट जडानको क्रममा रहेकाले अहिले बिटिएस टावर निर्माणका लागि आवश्यक तयारी थालिएको कार्यालय प्रमुख शाहले बताउनुभयो ।
विद्युतीकरण भएको ठाउँ तथा टेलिकमको बिटिएस निर्माण गरिएको ठाउँमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने बाँकी ठाउँमा संरचना निर्माणका साथै फोरजी जडानको क्रममा रहेको छ ।
वाईम्याक्स जडान भएको ठाउँमा फोरजी सेवा सञ्चालन भएपछि वाईम्याक्सलाई फोरजी इन्टरनेटले रिप्लेस गरेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले बताउनुभयो ।
इन्टरनेटको चौंथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको टेलिकमले दावी गरेको भए पनि धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा भने विद्युतीकरण पुगिनसकेको हुँदा सञ्चालन भएको छैन । त्यहाँ विद्युत पुग्नेबित्तिकै फोरजी सेवा चलाउने टेलिकमले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर मसान्तसम्म म्याग्दी जिल्लामा कुल ९१ हजार १ सय १ जना सञ्चारको पहुँचमा पुगेको टेलिकमको तथ्याङ्क छ ।
फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेटका रुपमा मानिन्छ ।
विदेशी मुलुकहरुमा इन्टरनेटको फाइजीलगायत सेवाको सुरुवात भैसक्दा नेपालमा भने बल्ल फोरजी सेवा विस्तार गर्न लागिएको हो ।।