म्याग्दीको मालिका गाउँपालिका-१,निस्कोट जुवाङका बेसहारा जस्तै बनेका दुई बालबालिकालाई आर्थिक सहयोग जुट्नुका साथै उच्च शिक्षासम्मको खर्च जुटेको छ । जन्मदिने आमाले दोस्रो विवाह र बुबा दुबै मृगौलामा खरावी आएपछि बिचल्लीमा परेका ३ बर्षिय धिरन, ८ बर्षिया ज्ञानु पुनको उच्च शिक्षासम्म र त्यसपछिको शिक्षामा समेत आवश्यक पर्ने खर्च सुनिश्चितता भएको हो ।

जन्मदिने आमाले दोस्रो विवाह र बुबा दुबै मृगौलामा खरावी आएपछि बिचल्लीमा परेको समाचार बेनीअनलाइन र बेनी साप्ताहिकले प्रकाशित गरेपछि जिपी फाउण्डेशन अमेरिकाले शिक्षादीक्षा, स्वास्थ्योपचार, लालनपालन लगायतको आवश्यक खर्च उपलब्ध गराउने ग्यारेन्टी गरेको छ ।

विदेशमा बुबाको मृगौलामा खरावी आएपछि घर फर्किदा आमाले दोस्रो विवाह गरी सम्पर्कविहिन भएपछि अलपत्र परेका ज्ञानु र धिरनलाई स्वर्गिय अमर तामाङको स्मृतिमा जिपी फाउण्डेशन अमेरिकाकी महिला संयोजक दावा शेर्पामार्फत उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको जिम्मेबारी लिएपछि इसारा लामामार्फत दरबाङको केबी एकेडेमीमा कक्षा १० सम्म मासिक १५ हजार उपलब्ध गराउने सम्झौता समेत भएको छ।

फाउण्डेनले आवश्यक सम्पूर्ण खर्च गर्ने महिला संयोजक शेर्पाले बताईन्। मासिक शुल्क, लत्ताकपडा, आवासीय सुविधाका साथै पकेट खर्च समेत फाउण्डेशनले दिने सम्झौता भएको विद्यालयका प्रबन्धक निर्देशक हिरा पुनले बताए।उनले विद्यालयले समेत मासिक र होस्टेल शुल्कमा २५ प्रतिशत छुट दिएको बताए।

त्यस्तै ज्ञानु र घिरनको संयुक्त नाममा गरिमा विकास बैंकमा रहेको खातामा ३ लाख १९ हजार जम्मा भएको स्थानीय भबहादुर पुनले बताए। उक्त आर्थिकलाई मुद्धतिमा बैंकमा राखिने छ । अभियानमा यूरोपमा रहेका पत्रकार दिलनिशानी मगरले समेत साथ दिएका थिए ।

छोराछोरीसँग बोल्न खोज्दा..
चित्रबहादुर पुनले छोरा–छोरीलाई विद्यालयमा देखेपछि बोल्नै सकेनन्। आफ्नो परिवारलाई सुखमा पाल्छु भनेर धन कमाउन खाडी गएर घर फर्किने बेलामा श्रीमतिले दोस्रो विवाह गरेपछि विचल्लीमा परेका छोराछोरीसँग बोल्न खोज्दा गला अवरुद्ध भयो।

आमाको काखमा गुटुमुटु सुत्ने बेलामा मुटु नै कमाउने जाडोमा खाली खुट्टा, एकसरे लुगामा लगाएको तस्वीर समाचारमा देखेका चित्रबहादुरले तीन महिनापछि अङ्गालो हालेर पटक–पटक भक्कानिए। दरबाङको केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलमा चित्रबहादुर भावुक बनेको देखेपछि कार्यक्रममा उपस्थित धेरैले आँशु थाम्न सकेनन्।

श्रीमतिसँग जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर विदेश गएका चित्रबहादुरले छोराछोरीको शिक्षादीक्षामा सहयोग जुटेपछि विद्यालयमा पुगेर आफ्नो पीडा पोख्न खोज्दा सम्हाल्न नसकेर भक्कानिएर रोएका थिए।

‘पहिलो पटक छोराछोरीलाई विद्यालयम देख्दा म भक्कानिएर रोएँ,‘श्रीमतिले साथ छोडेपनि मैले यस्तो अवस्थामा पनि उनीहरुलाई छोड्न सक्दिन्’ पुनले भने । रोग लिएर विदेशबाट फर्किदा कमाएको पैसा लिएर श्रीमति बेपत्ता भएपछि डायलासिस गर्ने खर्च समेत नभएको अवस्थामा निस्कोटबासीको पहलमा संकलन भएको आर्थिकले सहज भएको बताए।

पोखराको आस्था क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टरमा उपचारर्थ पुनले छोराछोरीको शिक्षादीक्षामा प्राप्त सहयोगले आफ्नो रोग आधा निको भएजस्तो महसुस भएको बताए ।

‘छोराछोरीको चिन्ताले सताइरहन्थ्यो,‘अब सहयोगीको साथले उनीहरुलाई विद्यालय जान सहज भयो’ उनले भने । साँझ विहान छाक जुटाउनै मुस्किल भएको अवस्थामा सबैको सहयोगले सहज भएको भन्दै कार्यक्रम सकिने बेलामा हर्षका आँशु बगाए ।

Leave a Reply