सरकारले सन् २०२० ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपछि लक्ष्य भेट्न सके वा नसके पनि विदेशी पर्यटक बढ्ने अनुमान व्यवसायीको थियो। त्यहीअनुसार व्यवसायीले लगानीको योजना समेत बनाएका थिए।

तर, सन् २०२० को सुरुमै विश्वले नै कोरोना भाइरसको महामारी खेप्नुपर्‍यो। कोरोनाको प्रभाव नेपाल पनि नराम्रोसँग पर्यो। कोरोनाको त्यो मार सुरु भएसँगै २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको नेपाल भ्रमण वर्ष पनि रद्द भयो। नेपाल भ्रमण वर्षको कार्यक्रम त रद्द भयो, तर, व्यवसायीले भ्रमण वर्ष लक्षित पूर्वाधार निर्माणलाई भने बीचैमा रोक्ने आँट गरेनन्। अनि जसोतसो ती पूर्वाधारलाई गति दिई नै रहे।

यसैको फलस्वरूप पवर्तको कालीगण्डकी नदीमाथि स्काई ब्रिज तयार भयो। नदीमाथि स्काई ब्रिज मात्रै तयार भएन त्यो ब्रिजमा रमाउन मिल्ने बन्जी, स्वीङ, पिङ, स्काई साइक्लिङका पूर्वाधार पनि थपिए। हुन त कालीगण्डकी माथिका ती पूर्वाधार पाँचवर्ष अघि नै बनाउन थालिएको थियो। तर, त्यसको लक्ष्य भ्रमण वर्षमा आउने पर्यटकका लागि थियो।

कोरोनाले गर्दा पर्यटन क्षेत्र अहिले शुन्य भएपनि नेपालमा साहसिक पर्यटकको आगमन बढ्ने अपेक्षा सहित पर्वतका व्यवसायीले त्यो बेला नै स्काई ब्रिज सहितका पूर्वाधारमा लगानीको आँट गरेका थिए। जसोतसो तयार भएको पूर्वाधार कोरोना महामारीले गर्दा तोकिएको समय गत वैशाख १ देखि नै व्यावसायिक सञ्चालनको धोको पूरा हुन पाएन्। पर्यटकलाई साहसिक गतिविधिमा रम्न पाउनेगरी तयार भएको त्यो पूर्वाधारमा कोरोनाका कारण एकाएक ताला लाग्यो। अनि ६ महिना पछि धकेलिएर बल्ल कात्तिकमा सञ्चालनमा आएको थियो।द क्लिफ प्रालिले पर्वतको कुश्मा बजार नजिकै कालीगण्डकी नदीमाथि ५ सय २० मिटर लामो पुलमा २ सय २८ मिटर अग्लो बन्जी बनाइएको छ। कालीगण्डकीमाथि आकर्षक सिंगल स्पान झोलुंगे पुल सहित बन्जी, स्वीङ, स्काई साइक्लिङका पूर्वाधार तयार पारेको छ। त्यहीँ पुलमा साहसिक गतिविधि गर्न मिल्ने पूर्वाधार बनाउँदा कम्पनीले करिब २५ करोड रूपैयाँ खर्च गरेको प्रमुख कार्यकारी अधिकृत इश्वर कार्कीले बताए।

पाँचवर्ष अघिदेखिको निर्माण सकेर गत वैशाख १ देखि नै व्यावसायिक सञ्चालन तयारी हुँदै गर्दा यो साहसिक खेल पनि कोरोना भाइरस महामारीको चपेटामा परेको उनले बताए। ‘साहसिक पर्यटक तान्नका लागि निर्माण गरिएको यसका पूर्वाधारले नेपालमा आउने विदेशीको बसाइँ अवधि बढाउने अपेक्षा लगानी कर्ताको थियो,’ सिइओ कार्कीले भने, ‘तर, बीचमा एकाएक कोरोनाको मारमा परियो। अहिले केही राहत पाउने गरी सञ्चालनमा आएको छ।’

कार्कीका अनुसार नेपाल भ्रमण वर्षमा आउने पर्यटकका लागि लक्षित गरेर पूर्वाधार बनाउन थालिएको थियो। त्यहीँ लक्ष्य अनुसार समयमै पूर्वाधारले पूर्णता पाएका पनि थिए। तर, सञ्चालनको बेलामा भने कोरोनाले बाधा पुर्‍याएको उनले बताए।कार्कीका अनुसार अहिले बन्जी, स्वीङ र पिङ सञ्चालनमा छन्। स्काई साइक्लिङको तयारी पनि गरिएको छ।

कालीगण्डकी माथि निजी पुल बनाएर यी सबै पूर्वाधार थपेको कार्कीले बताए। स्काई साइक्लिङका पूर्वाधार बनाएर परीक्षण पनि गरिसकेको उनले बताए। ‘स्काई साइक्लिङ चलेको छैन, तर पूर्वाधार तयार पारेर परीक्षण पनि गरिसकेका छौं। अबको एक महिनापछि त्यो पनि खुल्नेछ,’ उनले भने, ‘एडभेन्चरमा फरक÷ फरक अनुभव लिन चाहने मान्छे हुने भएकोले पनि उनीहरूको चाहना अनुसार पूर्वाधार तयार पारेका हौं।’

साहसिक गतिविधिका उत्पादनसँगै रिसोर्ट पनि तयार पारिएको छ। स्वीङ विश्वकै अग्लो रहेको र बन्जी विश्वकै दोस्रोमा पर्ने उनको दाबी छ। उनका अनुसार पुल बनाउन निजी जग्गा खरिद गरिएको हो। कालीगण्डकी नदीका वारिपारिका दुई गाउँलाई त्यो पुलले जोड्छ। वारी पर्वतको कुश्मा बजार र पारी बागलुङको बागलुङ नगरपालिका–१४ को नारायणथानलाई जोड्छ। निजी पुल भए पनि स्थानीयलाई केही सस्तोमा वारपार गर्न दिइएको कार्कीले बताए।

उनका अनुसार गाउँलेले निःशुल्क वारपार गर्न पाउँछन् भने घुम्न आउने अन्य सर्वसाधारणले एकतर्फी ६० रूपैयाँ तिरेर वारपार गर्न पाउँछन्। ‘रमाउन जाने मात्रै वारीपारी गर्छन्। नत्र स्थानीयले दैनिक रूपमा सदरमुकाम आवतजावत गर्दा त्यो पुल कमै प्रयोग गर्छन,’ उनले भने, ‘त्यहीँ पुलबाट वारपार गर्ने कर्मचारी पनि छन्। तर, सस्तोमा उनीहरू आवतजावत गर्ने हुन्। विद्यार्थीलाई मासिक १५ सय रूपैयाँमा आवतजावत गर्न पाइने सुविधा छ। सबैलाई निःशुल्क आवतजावत गराउँदा पनि सहज हुँदैन।’

प्रमुख कार्यकारी निर्देशक कार्कीका अनुसार दिनमा ८० जनालाई बन्जी गराउन सकिन्छ। अहिले करिब दैैनिक २० जनाले बन्जी गर्ने गरेका छन्। शनिबार ५० जनासम्म आन्तरिक पर्यटक बन्जी गर्न पुग्छन्। बन्जी गर्न आउनेमा बुटवल, पोखरा, काठमाडौंका युवा छन्। १८ देखि ३५ वर्षका युवाको रूची बन्जीमा रहेको उनले बताए। बन्जी गर्न आउनेले ८ हजार ५ सय रूपैयाँ शुल्क तोकेको भए पनि कोरोनाले गर्दा केही सस्तोमा अहिले पर्यटकले साहसिक अनुभव बटुल्न पाउँछन्।

अहिले ७ हजार रूपैयाँमा बन्जी गर्न पाइने गरी छुट दिइएको उनले बताए। पहिलोपटक बन्जी गर्दा ७ हजार र दोस्रो पटक गर्दा ३५ सय, तेस्रो पटक गर्दा २५ सय र चौथो पटक गर्दा निःशुल्क पाइने सुविधा पनि रहेको कार्कीको भनाइ छ। ‘६ महिना भित्र चारपटक गर्दा अन्तिम (चौथो)मा निःशुल्क हुन्छ,’ उनले भने, ‘यसले अधिक पाहुनालाई आकर्षक गर्न खोजेका हौं।’

हाम फाल्नेको ५ लाख रूपैयाँको बिमा गरिएको छ। ‘नौलो अनुभव गर्नका लागि नै यो पूर्वाधार तयार पारेका हौं। यसले टाढाका पाहुनालाई पनि भित्र्याउन सघाएको छ,’ उनले भने, ‘कालीगण्डकी नदी र आसपासका क्षेत्रलाई नियालेर अनुभव बटुल्न पाइन्छ।’ साहसिक खालको यो उत्पादक तयार पार्दा लगानीकर्ता निकै नै उत्साही थिए। नेपाललाई साहसिक गतिविधिको गन्तव्य बनाउन सकिनेमा उनीहरूको अपेक्षा समेत थियो। तर, एकाएक कोरोना महामारले गर्दा लगानीकर्ता केही चिन्तित बनेका छन्। तर, कोरोनाकाबीच व्यवसायिक रूपमा सञ्चालन गर्दा पर्यटक आउन सुरु गरेपछि व्यवसायी खुसी र आशावादी भएको कार्कीले बताए।

‘कोरोनाको कहरबीच सञ्चालन गर्दा पनि सोचेभन्दा राम्रो भयो। कोरोनाको यो अप्ठेरोमा पनि सोचेभन्दा बढी पर्यटक हामीले पाएका छौं,’ उनले भने, ‘यो अप्ठेरोमा पनि राम्रो भएको छ। यसले हामीलाई आशावादी बनाएको छ। कम्तिमा सञ्चालन गरिराख्ने सक्ने आधार देखेका छौं।’

प्रमुख कार्कीका अनुसार अहिले ३८ जनाले रोजगारी पाएका छन्। अवस्था सहज भएर पर्यटक थपिँदै गएमा यो संख्या बढ्न सक्छ। पर्यटकको आकार बढ्दा ५० भन्दा बढीले रोजगारी पाउने उनको भनाइ छ। त्यसबाहेक पर्यटक तान्नका लागि प्याकेज पनि निकाल्ने तयारी भइरहेको छ। ‘अवस्था सहज हुँदा विशेष प्याकेज निकालेर अफर गर्ने हो। अहिले त मार्केटिङ नगरी नै राम्रो भएको छ,’ कार्कीले भने। कोरोनाको कारण गरिएको लकडाउनमा लामो समय घरभित्र थुनिएका आन्तरिक पर्यटक अहिले बाहिर निस्कन खोज्दा साहसिक गतिविधिमा रम्न पुगेको उनले बताए। त्यसबाहेक टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालले पनि यो बन्जीलाई चर्चामा ल्याउन सघाएको कार्कीको भनाइ छ।

कम्पनीका निर्देशक नेत्र पराजुलीका अनुसार निजी रूपमा पुल बनाउनुअघि कालीगण्डकी माथिकै अर्काे सरकारी पुलमा बन्जीका गतिविधि गराउने योजना थियो। कालीगण्डकी माथिको कैया झोलुंगे पुलमाथि पूर्वाधार थपेर साहसिक गतिविधिका यी संरचना थप्ने योजना बनेको थियो। तर, दुई वर्षसम्म प्रक्रिया कुर्दा पनि कैयाको पुलमा सम्भव नभएपछि निजी जग्गा किनेर पुल बनाउने योजना बनेको उनले बताए।

‘पर्वतले झोलुंगे पुल जिल्लाको पहिचान पनि बनेको छ। त्यसैले साहसिक गतिविधि रुचाउने पर्यटक भिœयाउन पाए समग्र जिल्लावासी र गण्डकी प्रदेशको पर्यटनमा पनि लाभ हुने देख्याैं। त्यहीँ भएर निजी क्षेत्रबाटै पुल बनाएर बन्जी सहितका संरचना थप्यौ,’ पराजुलीले भने, ‘केहीवर्षको प्रयासलाई हामीले व्यवसायिक चरणमा पुर्‍याउन सफल भएका छौ।’ झोलुंगे पुल बनाउनकै लागि पर्वतपट्टि चार आना जग्गा छ भने बागलुङमा २१ रोपनी जग्गा किनिएको छ। विभिन्न ३२ जनाको २१ रोपनी जग्गा बागलुङमा किनिएको छ।

‘संरचना निर्माण सक्ने बेलामा कोरोनाले केही निराश बनाएकै हो। तर, अहिले पर्यटकले माया गर्दा हौसला मिलेको छ,’ उनले भने, ‘कोरोना नहुँदो हो त यो बेलासम्म कालीगण्डकीमाथिको यो बन्जीले विश्वसामु पहुँच पुर्‍याइसक्थ्यो। तर, अहिले आन्तरिक पर्यकले नै माया गर्दा हामी उत्साहीत भएका छौं।’ बन्जीको जिल्ला बनाउन चाहेको समेत रहेको उनले बताए। nagariknews.com