‘पुरस्कारका लागि किताब लेखिँदैन’

0

म्याग्दीका चन्द्रप्रकाश बानियाँका ५ पुस्तक प्रकाशित छन् । उनका किताबमध्ये ‘महारानी’ले गत वर्षको मदन पुरस्कार प्राप्त गर्याे। पूर्वशिक्षक तथा सांसद बानियाँ केही समय पोखरामा गुप्तवासमा थिए । उनको कृति महारानीले पुरस्कार जितेपछि उनी एकाएक चर्चामा आए । पोखरामा ३ वर्ष उनले किताबसँग बिताए ।

महारानी उनले पोखरामा लेखेको तेस्रो किताब थियो । आउँदा गह्रुँगो मन लिएर आएका उनी म्याग्दी फर्कँदा भने ठीकविपरीत भाव लिएर फर्किए। तर अहिलेपनि बानियाँ पोखरामा अपरिचित भन्न चाहान्छन् । उनी आफू बढी चर्चित नभएको भए हुने जस्तो लाग्ने बताउँछन् ।

नेपाल लिट्रेचर फेस्टिभलको ९ औं संस्करणको दोस्रो सेसनमा प्रस्तोता राजकुमार बानियाँले उनलाई प्रश्न गरे, ‘तपाईंको महारानीपछि अर्को किताब समेत आइसक्यो तर त्यसको धेरै चर्चा हुँदैन, किताबले पुरस्कार पाएपछि मात्र किताबको प्रशंसा हुनुलाई कसरी लिनुहुन्छ ?’ उनको जवाफ थियो, ‘महारानीले पुरस्कार पाउनु नै मेरा लागि अनौठो थियो, सायद त्यो किताब महारानीको छायाँमा पर्‍याे । पुरस्कारका लागि किताब लेखिँदैन ।’ महारानी लेख्नु अगाडि उनीसँग थुप्रै कथाहरू थिए ।

म्याग्दीको एक धार्मिक स्थल जहाँ मन्दिर छैन, त्यहाँकी देवीको कथा पनि छैन । बानियाँलाई त्यहाँको कथालाई नै उपन्यास बनाउने निधो गरे । तर उपन्यास लेख्नु अगाडि उनमा त्यस कथालाई उपन्यास बनाउन सक्छु त ? भन्ने संशय थियो । बानियाँले आफ्नो कथा अरु कथाकार उपन्यासकारलाई देखाए । उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएपछि भने उनले कथालाई उपन्यासको रुप दिने निधो गरे । महारानी केबल एक कथामात्र नभएर इतिहास भएको उनको दाबी छ ।

नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिन ‘महारानी’का लेखक चन्द्र बानियाँसँग राजकुमार बानियाँले गरेको कुराकानीका मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

कथामा महारानीकै कथा कमजोर छ भन्ने गरिन्छ नि ?
हो अलिअलि भूमिका दिन सकिएन । मैले केही अंश झिकेको हुँ । सुमन्त बानियाँको पात्रलाई एकदम राम्रो बनाएको भनिन्छ । तर उनी ऐतिहासिक व्यक्ति हुन् । उनी केही सन्धी गर्दा निर्णायक व्यक्ति थिए । मैले घनश्यामलाई चाहिँ बढी जोड दिएको हुँ । उनीमार्फत मैले आफ्नो राजनीतिक आदर्श देखाउने प्रयत्न गरेको हुँ ।

तपाईंको न्यारेटरले अंग्रेजीका शब्द प्रयोग कसरी गर्यो ?
हो, अंग्रेजी शब्द मिसिएको छ । एक ठाउँमा मुड भन्ने शब्द मात्र प्रयोग भएको हो ।
मदन पुरस्कार लेख्ने लेखक र प्रकाशक मालामाल हुन्छन् भनिन्छ । यसको चर्चा अनुसार तपाईंले के कति अर्थोपार्जन गर्नुभयो ?

भन्नेले जे भने पनि हुन्छ । नेपालको सन्दर्भमा अहिलेसम्म लेखेर बाँच्न पनि मुस्किल छ । महारानी यदि हिन्दीमा हुन्थ्यो भने अर्थ हुन सक्थ्यो । तर नेपालमा त्यस्तो छैन । अझ म स्थापित लेखक होइन, म प्रकाशक खोज्दै गएँ । प्रकाशकसँग मेरो केही सम्झौता भएको थिएन, कति किताब गयो भन्ने पनि छैन । पुरस्कार रकमबाहेक किताब बिक्रीको पैसाले एक छाक खाना नी खाएको छैन ।

तपाईंले उपेन्द्र देवकोटाको सल्लाहमा राजनीति त्याग्नुभो । राजनीति छाड्ने निर्णय सही थियो कि थिएन ?
मैले चमत्कारमा विश्वास गर्दिनँ । तर मैले क्यान्सर बोकेरपनि बाँचे । अहिले जीवन रमाइलो छ । जीवन बाँच्ने सल्लाहपाएपछि म आनन्दसँग बाँचिरहेको छ् । तर यसरी बस्दा मैले मेरा २५ वर्ष निश्क्रिय भएर बाँचे । उपलब्धिविहीन भएर । मन्त्री हुन्थेँ होला तर त्यो भनेको अरुको गाली खानुमात्र हो । राजनीति त्यागेर म सन्तुष्ट छु ।

कसैले महारानीमा सिनेमा बनाउँछु भन्यो भने के गर्नुहुन्छ ?
केहीले टेलिफिल्म बनाउँछु भन्नुभएको छ । मैले तर त्यसरी सोचेको छैन । परिवारमा एकखालको छलफल पनि हुने गरेको छ । टुङ्गोमा पुगेको छैन तर दिन्छु होला किनकि यसले मेरो महारानीलाई बढीले चिन्नेछन् । राम्रो डाइरेक्टर पाए दिन्छु कि । Source: ekagaj.com

Leave a Reply