म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा सुविधासम्पन्न १० बेडको अस्पताल निर्माण गरिने भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गएको नवौँ गाउँसभाको बिहिबार अस्पताल बन्ने स्थान छनौट गरेको हो । गाउँसभा सुरु भएको ७ दिनपछि मतदान प्रक्रियाबाट बेगखोलामै अस्पताल बनाउने निर्णय भएपछि अस्पतालको विवाद टुंगिएको छ ।

बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित सभामा ४२ जना सदस्य कायम रहेको गाउँसभामा उपस्थित ३५ जनाले गरेको मतदानमा बेगखोलाको पक्षमा २६ मत र मौवाफाँटमा ४ मत परेको थियो । गाउँपालिकाले अस्पतालको विषयमा सुरुवात देखि नै गरेको निर्णयको प्रक्रियामा असहमति जनाउँदै पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल, वडा सदस्य सम्झना परियार, पबनकुमार मल्लले नोट अफ डिसेन्ट लेखेका छन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले मतदान प्रक्रियामा सहभागिता जनाएनन् । पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभालाई स्थानीय र जिल्लास्तरमा महत्वका साथ हेरिए पनि निर्णय हुन नसकेपछि अन्योल सिर्जना भएपछि अन्तिम विकल्प मतदानमा जानुपरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘गाउँसभाको निर्णय केन्द्रमा पठाउँछौ, अव अस्पतालको काम अगाडी बढ्छ’ उनले भने । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो ।

२०७७ साल कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिकावासीलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले पिप्ले स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै गाउँपालिकाले व्यवस्थापन गरेको जग्गामा १० श्यया क्षमताको अस्पताल बनाउने निर्णय गरेपछि विवाद उत्पन्न भएपछि सहमतिमै बनाउन गाउँपालिका अध्यक्ष भण्डारीले सक्रियता देखाएका थिए ।

ठाउँको विवादका कारण मङ्सिर १५ गते तय गरिएको अस्पताल शिलान्यास कार्यक्रम हुन सकेन । चालू आर्थिक वर्षमा रु ८३ लाख विनियोजन भएको अस्पतालको भवन निर्माण गर्ने योजना अन्योलमा परेको छ । जग्गासमेत व्यवस्थापन गरिसकेको र ठाउँ नै तोकिएकाले बेगमै अस्पताल बनाउने गरिएको निर्णयबाट उत्साहित भएको बेगका वडाध्यक्ष बिलप्रसाद फगामीले बताए । यसबिच बेगखोलाबासी उत्साहित भएका छन् ।

Leave a Reply