गाउँमा अस्पताल बन्ने भएपछि स्थानीयले निशुल्क ९ रोपनी जग्गा दान गरेका छन् । नेपाल सरकारको १ स्थानीय तहमा १ अस्पताल बनाउने अवधारणा अनुसार रघुगंगा गाउँपालिकाले वडा नं १ बेगखोलामा अस्पताल बनाउन आवश्यक जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका हुन् ।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राप्त बजेटबाट निर्माण गरिने अस्पतालको लागि बेगखोला देउरालीका लोक बहादुर फगामी, हिम बहादुर फगामी, मेजन फगामीले ५ रोपनी र देउ बहादुर गर्बुजा, टुक बहादुर गर्बुजा, दान बहादुर गर्बुजा र जित बहादुर पुर्जाले ४ रोपनी जग्गा उपलब्ध गराएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताए ।

‘आज गाउँसभाबाट अस्पताल बन्ने पक्का भयो,‘जग्गादाताहरुलाई धेरै धन्यवाद,‘अस्पताललाई समयमै सम्पन्न गर्ने गरी अगाडी बढ्नेछौ’ अध्यक्ष फगामीले भने । उनले बस्ती नजिकै सडक सञ्जालले जोडिएको स्थानमा जग्गा भएकाले बिरामीलाई समेत सहज हुने बताए । उनले स्थानीयले आसपासका क्षेत्रमा आवश्यक परेमा थप जग्गा समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए ।

अस्पतालसम्म आउन आवश्यक सडक सञ्जालका थप पूर्वाधारहरु समेत विस्तार गरिने बताए । अस्पताल बन्ने पक्का भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को प्रतिवेदन, नाँचजाच प्रतिवेदन, माटो परीक्षण, जग्गा रजिस्ट्रेसन पास गर्ने लगायतका आवश्यक काम समेत अगाडी बढ्ने अध्यक्ष फगामीको भनाई छ ।

अस्पतालको विवादले कहाँ बन्ने टुंगो नलागेको अवस्थामा अलमलमा परेपनि जग्गादाताले जग्गा उपलब्ध गराएपनि समस्या भइरहेको थियो । कूल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माणमा चालू आवका लागि ८५ लाख बजेट प्राप्त भएको छ । स्थानीयले उपलब्ध गराएको जग्गाको मुल्याङ्कन गरी जग्गादातालाई भब्य सम्मान समेत गरिने छ । यता बेगखोलामा अस्पताल बन्ने भएपछि पिप्लेका बासिन्दा आन्दोलित भएका छन् ।

मन्त्रालयबाट तोकिएको स्थानमा बन्नुपर्र्ने अस्पताल अन्यत्र गएको भन्दै जनप्रतिनिधिले समेत असहमति जनाएका छन् । यसअगाडी मन्त्रालयबाटै बेगखोला तोकिएर आएपछि गाउँपालिकाले केन्द्रमा नै अस्पताल बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको बेगखोलाबासीले विरोध गरेका थिए । मन्त्रालयले कुनै एक स्वास्थ्य चौकीलाई स्तरोउन्नती गरी अस्पताल बनाउने भन्दै पठाएपछि स्थानीय बिच विवाद भएको थियो ।

Leave a Reply