धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बुधबार राती प्रधानमन्त्री केपी ओली निकट राष्ट्रिय यूवा संघ नेपालले आयोजना गरेको जिल्लास्तरीय यूवा भेलाको पोष्टर सामाजिक सञ्जालमा पोष्ट गदैं भेलामा सहभागी हुन अनुरोध गरे। उपाध्यक्ष छन्त्याललाई कतिपय नेकपाका जिल्ला नेताले प्रचण्ड–नेपाल खेमामा गएको अनुमान गरेका थिए ।

छन्त्यालले जस्तै जिल्ला नेकपाबाट निर्वाचित गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य,वडा सदस्यले समेत आ–आफ्नो कित्ता क्लियर गर्न थालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई चिरा भएसँगै ब्यक्तिगत, सामुहिक भेटघाटमा सक्रिय रहेका नेकपाका नेताले आफ्नो सम्पर्कमा रहेका नेताहरुलाई प्रष्ट लाइनमा देखिन अनुरोध समेत गर्न थालेपछि सार्वजनिक नभएपनि भित्र–भित्र नेताहरु प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल खेमामा जिल्ला र गाउँ तहका कार्यकर्ता पनि छुट्टिन थालेका छन्।

केपी ओली समूह र प्रचण्ड–नेपाल समूहमा छुट्टिएको स्थानीयस्तरमा आयोजना हुने भेला र बैठकबाटै जिल्ला जिल्लाका सबै संयन्त्रहरु गठनको तयारीलाई समेत तिब्रता दिएका छन् ।

प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्रीको संसद विघटनको बिरुद्धमा सदरमुकाम बेनीमा शक्ती प्रर्दशन गरेको छ भने ओली निकट समुहले आगामी पुस १८ गते जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला र पुस २१ गते जिल्लास्तरीय यूवा भेलाको तयारीमा जुटेका छन्।

शनिबारको कार्यकर्ता भेला नेकपा विभाजनपछि ओली समुहको सबैभन्दा ठूलो शक्ती प्रर्दशन हुने छ भने उक्त भेलाबाट समेत ओली समुहको जिल्लाको शक्ती प्रष्ट हुने अनुमान गरिएको छ।नेकपा विभाजनसँगै हालसम्म मौन बसेका केही नेताहरु समेत उक्त भेलामा देखिने अनुमान ओली निकटको अनुमान छ ।

जिल्ला कमिटीमा बहुमत रहेको दावी गरेको प्रचण्ड–नेपाल समुहले समेत आफ्नो रणनीति बनाउँदै जिल्लाभरका अगुवा कार्यकर्ताहरुसँग छलफल, भेटघाट, प्रधानमन्त्री ओलीको नेकपा विभाजनपछिको अवस्थाका बारेमा रणनीति बनाइरहेको छ। म्याग्दीमा अहिलेसम्म कुन पक्ष बलियो छ भन्ने प्रष्ट रेखा देखिएको छैन् ।

ओली निकट स्रोतले स्थानीय तहमा नेकपाबाट निर्वाचित प्रमुख, उपप्रमुख सबै आफ्नो लाइनमा रहेको दावी गरेको छ भने प्रचण्ड–नेपाल लाइनले तटस्थ बसेकालाई विभिन्न किसिमको दवाव दिने गरिएको बताएको छ । यता दुबै पक्षले भेलाहरु पार्टी कार्यालय बाहिर गर्ने गरेका छन् ।

‘ओली निकटको ब्यानरमा ‘जबज’
प्रधानमन्त्री ओली निकट समुहले भात्रृ संगठन तथा जिल्लास्तरीय भेलाको हरेक ब्यानरमा ’जनताको बहुदलीय जनवाद’ जबज लेखेका छन् ।

पूर्वएमाले पक्षले जबजले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक र स्वीकार्य बनाएको भन्दै जिल्लामा पूर्व एमाले लाइन आफ्नो पक्षमा राख्ने गरी जबजको नाराबाट आर्कषित गरेका छन् भने बेनीमा आयोजित विरोधसभामा नेकपा प्रचण्ड-नेपाल समुहले कुनै नाराको प्रयोग नगरी नेकपाको संस्थापन लाइनको प्रतिनिधित्व गर्ने भएकाले जबजको औचित्य सकिएको बताउँदै आएका छन् ।

नेकपा विभाजन भएपनि ग्रामिण क्षेत्रमा सक्रिय कार्यकर्ता निर्वाचन आयोगले पार्टी वैधता र चुनाव चिह्नका आधारमा मात्र आफ्नो कित्ताकाट गर्ने भन्दै मौनता देखाएकाले दुवैपक्षले वडास्तरमै विभिन्न माध्यमबाट कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने प्रयामा छन् । ओली समुहले पूर्व एमालेका नेता तथा कार्यकतालाई धेरै प्राथमिकता दिएको देखिन्छ भने प्रचण्ड–नेपाल समुहमा पूर्व माओवादी सहित एमालेका जिल्लास्तरका नेता, जनप्रतिनिधिमा नेपाल निकटका धेरै खुलेका छन् ।

जनप्रतिनिधिहरुबाटै कार्यकर्ता तान्ने होडबाजी
म्याग्दीका ६ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो खेमामा तान्न सक्रिय दुवै खेमाले स्थानीय जनप्रतिनिधिमार्फत कार्यकर्ता तान्ने रणनीति बनाएका छन् । दुवै पक्षले जनप्रतिनिधिबाट पार्टी विभाजनको कारण गाउँतहसम्म पुग्ने र कार्यकर्तालाई समेत लाइन क्लियर गराउन सकिने अवस्था रहेकाले जनप्रतिनिधि पहिलो प्राथमिकतामा परेका छन् ।

बेनी नगरपालिकामा वडा नं ३ र १० बाहेक सबै वडा अध्यक्ष पूर्व एमालेबाट निर्वाचित छन् । वडा नं ३ का अध्यक्ष पदम पुन प्रचण्ड–नेपाल लाइनमा छन् भने वडा नं १० कांग्रेसले जितेको थियो । बेनपाका केही वडा अध्यक्ष बाहेक अन्य खुलेका छैनन् ।

सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाले दुवै पक्षमा विभाजित हुने अवस्था रहेको अनुमान गरिएको छ । त्यस्तै मंगला गाउँपालिकामा वडा नं ४ मा अध्यक्ष प्रचण्ड–नेपाल लाइनमा छन भने अन्य वडा अध्यक्षहरु ओली लाइनमा देखिने अवस्था छ । मंगलाको वडा नं ५ का सदस्य एवम् कार्यपालिका सदस्य प्रचण्ड–नेपालको विरोधसभामा बेनीमा सहभागि भएका थिए ।

गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको एरिया भएकाले पनि गाउँपालिकामा ओली पक्ष हावी हुने देखिन्छ। त्यस्तै मालिका गाउँपालिकामा वडा नं २, ३, ६ तत्कालिन एमालेले जितेको वडा हुन् भने वडा नं ४, ७ पूर्व माओवादी निकटले जितेका थिए । वडा नं ७ का अध्यक्ष नेकपाका यूवा नेता सुविन जुग्जालीले प्रधानमन्त्री ओलीको कदम बिरोध गरेका थिए । जुग्जाली मालिकामा नेकपाको यूवा तथा प्रभावशाली नेता मानिन्छन् ।

बिमबाट स्वतन्त्रबाटै वडा अध्यक्ष सहित प्यानलनै जितेका जुग्जाली र ओखरबोटका अध्यक्ष दिलिप शेरचन प्रचण्ड– नेपाल लाइनमा देखिने अवस्था छ भने वडा नं २ र ३ का वडा अध्यक्ष खुलेका छैनन् ।

यता धवलागिरी गाउँपालिकामा वडा नं १ गूर्जा नेकपा प्रचण्ड–नेपालको फ्रन्ट लाइनमा देखिएका छन् भने वडा नं २ समेत उतै लाग्ने अनुमान गरिएपनि वडा नं ३ र ४ ओली लाइनमा आउने सम्भावना छ । वडा नं ६ का अध्यक्ष दवावमा पर्ने अवस्था छ । मराङबाट काठमाण्डौमा रहेका केही नेताहरु प्रचण्ड– नेपाल लाइनमा देखिएकाले वडा अध्यक्षका बारेमा अहिले नै भन्ने अवस्था छैन् ।

त्यस्तै रघुगंगा गाउँपालिकामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिको संख्या न्यून भएपनि जिसस प्रमुख देबेन्द्र बहादुर केसीको लाइनले ठूलो भूमिका खेल्ने छ । गण्डकी प्रदेश सदस्य विनोद केसीको गाउँ समेत रघुगंगामै पर्छ । केसी र नेकपाका कार्यालय सदस्य बालकृष्ण सुबेदी प्रचण्ड–नेपाल खेमामा देखिएपनि जिसस प्रमुख केसीले संसद विघटनको बिपक्षमा सामाजिक सञ्जालमा लेखेका थिए ।

उता अन्नपूर्ण गाउँपालिकामा वडा नं १, ३, ८ पूर्व एमालेले जितेका वडा हुन् भने वडा नं २ पूर्व माओवादी लाइनबाट निर्वाचित भएपनि पार्टी एकता अगाडी नै एमालेमा प्रवेश गरेकाले अन्नपूर्णमा कुन पक्ष हावी हुन्छ भन्ने अहिलेसम्म निश्चित छैन् । स्थानीय तहका जनप्रतिनिधिको हातमा स्रोतसाधन हुने भएकाले पनि अगुवा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन सहज हुने दुवै समुहको भनाई छ ।

Leave a Reply