---Advertisement---

बेनी फ्युचर सेलेक्ट एजुकेशनले गर्यो ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

On: January 1, 2021 11:20 PM
Follow Us:

बुबाको मृत्युपछि समस्यामा परेका बेनी नगरपालिका-५,भिरमुनीका तीन बालबालिकाको उच्च शिक्षाका लागि विद्यार्थी अष्ट्रेलिया पठाउँदै आएको एक संस्थाले शैक्षिक अभिभावकत्व ग्रहण गरेको छ ।

दैनिकज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका मिठे दर्जीको घाँस काट्न गएको समयमा रुखबाट लडेर मृत्यु भएपछि निकै कष्टकर जीवन विताइरहेका करुणा, अरुणा र अजित परियारलाई बेनी फ्युचर सेलेक्ट एजुकेशन एन्ड भिसा सर्भिसेसले उच्च शिक्षासम्म आवश्यक पर्ने शैक्षिक खर्च उपलब्ध घोषणासँगै सहयोग हस्तान्तरण गरेको छ । पौलस्त्य माविमा कक्षा ७ मा करुणा र कक्षा ५ मा अरुणाका साथै बालविकासमा अजित अध्ययनरत छन्। शुक्रबार बेनीमा रहेको शाखामा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार कृष्णबहादुर बानियाँ,म्यानेजिङ डाइरेक्टर अस्मिता केसीले सिता परियारलाई छोराछोरीको उच्च शिक्षासम्म आवश्यक खर्च सुनिश्चितता गदैं चेक हस्तान्तरण गरिएको छ ।

तीन बालबालिकालाई बार्षिक रू ५० हजार सम्मको सहयोग गर्ने सञ्चालक म्यानेजिङ डाइरेक्टर केसीले बताईन् । एकसरे कपडामा आएका बालबालिकालाई संस्थाले रु ५ हजार बराबरको न्यानो कपडा समेत उपलब्ध गराएको थियो । सोही अवसरमा श्रीमानको मृत्युपछि छोराछोरीको पढाईमा समस्या भइरहेको बेला यो सहयोगले ठूलो राहत मिलेको परियारले बताईन् ।

अष्ट्रेलियाको सिड्नीमा हेड अफिस रहेको संस्थाको बेनी शाखाका सञ्चालक समेत सुमन बानियाँ करिब एक दशक देखि अष्ट्रेलियामै छन् ।‘चरम आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले सहयोगको सुरुवात गरेका छौ,‘यस्ता सहयोगले भविस्यमा पनि निरन्तरता पाउने छ’ बेनी शाखाका सञ्चालक बानियाँले भने । पीडित परियारको समस्याका बारेमा यसअगाडी बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो ।म्याग्दीबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई अंग्रेजी भाषा परीक्षा आइएलटिएस कक्षा, शैक्षिक परामर्श,भिजा प्रोसेसिङको सम्पुर्ण डकुमेन्टेशन, ऐन, नियम कानुन र शिक्षा प्राणालीका बारेमा बेनीमै सेवा दिने बजार ब्यवस्थापक जगत गैरेले बताए ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।