बेनी नगरपालिकाले सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा संकलन गरेको फोहोरमा आगो लगाइएपछि त्यसबाट निस्केको धुँवा बस्तीभरि नै फैलिएको छ।

बेनीबजार, गलेश्वर तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोरलाई बेनी–गलेश्वर सडकखण्ड अन्तरगत रातोपहिरोमा फोहोर विसर्जन गदैं आइरहेको नगरपालिकाले मापदण्ड विपरित आगो लगाएपछि बौर, कालिपुल, जलेश्वर र सडकखण्डमा आवतजावत गर्नेलाई असहज बनेको छ ।

शनिबार फाहोर विर्सजन गर्ने मापदण्ड अनुसार बर्गीकरण गर्नुपर्नेमा आगो लगाइएपछि धुँवाको मुस्लो निस्किएको जलेश्वरका स्थानीय इन्द्र बरुवालले बताए । ‘दैनिकजसो दुर्गन्ध फैलिन्छ,‘बिर्सजन गर्ने क्रममा धेरै लापरवाही भइरहेको छ’ बरुवालले भने ।

वर्गीकरणमा गर्नुपर्ने फोहोर समेत जलाउन थालिएपछि मानव स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले चर्को विरोध गरेका छन् । फोहोरमा लागेको आगो र ब्यवस्थित ब्यवस्थापनमा हेलचेक्राई हुदाँ वरिपरीको पूरै वातावरण प्रदूषित बनेको यूवा जगत गैरेले बताए । उनले आसपासका क्षेत्रका बासिन्दा स्वास्थ्य जोखिमसँग जुधिँरहेको बताउँदै त्यहाँबाट हटाउन समेत अनुरोध गरेका छन् ।

यता बेनी नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले आगो लागेको जानकारी लगत्तै दमकल पठाइएको बताए । ‘फोहोर ब्यवस्थापनप्रति सजक छौ,‘त्यहाँको संरचनालाई मापदण्ड अनुसार नै प्रयोग गर्न निर्देशन दिएका छौ’ सुबेदीले भने ।

फोहोर व्यवस्थापनको जिम्मा दिएको मिसन फोर वेष्ट म्यानेजमेन्ट प्रालिले कुहिने, नकुहिने र अस्पतालजन्य गरी फोहोरलाई तीन खण्डमा वर्गीकरण गरेर नगरको फोहोर संकलनको सम्झौता भएपनि हेल्चेक्राई गर्ने गरेको छ । हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाउन बजेट विनियोजन गरिएपनि स्थान छनौट विवादले रोकिएको छ ।

सडक तथा बस्ती आसपासमा ब्यवस्थापन गरिएको फोहोरबाट मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले ब्यवस्थापन आवश्यक रहेको स्वास्थ्यका जानकारहरु समेत बताउँछन् । बेनी बजारमा दैनिक औद्योगिक ३ मेट्रिक टन, स्वास्थ्य निकायबाट २ मेटन र घर तथा पसलबाट ५ मेटन गरी दैनिक १० मेटन फोहोर निस्कन्छ ।

Leave a Reply