गैरसरकारी संस्था मिलन म्याग्दीको शनिबार सदरमुकाम बेनीमा १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भई झोलुङ्गे पुलतर्फ सामाजिक सहजीकरण एवं पोषणतर्फ युएसआईडीको आर्थिक सहयोगमा

सुआहारा कार्यक्रम सञ्चालन गरेको संस्थाले १६औं साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले गैरसरकारी संघसंस्थाले समुदायस्तरमा पुगेर सर्वसाधारण नागरिकलाई विभिन्न तालिममार्फत सुसूचित गराउनुपर्ने बताइन् ।

उनले गैरसरकारी संस्थाहरु सरकारको सारथी भएको भन्दै दुरदराजमा पुगेर तल्लो तहका नागरिकको उत्थान गर्नुपर्ने बताएकी छन् । मन्त्री पुनले विपन्न समुदाय तथा वर्गको उत्थानमा आवश्यक पहल गरिरहेको हुँदा त्यसमा हातेमालो गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बेनी नगरपालिका–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, संस्थाका निवर्तमान अध्यक्ष विनय श्रेष्ठ र साधारण सदस्य बलबहादुर विश्वकर्माले मन्तव्य राखेका थिए ।  साधारणसभाले संस्थाका सचिव दिलमाया बिटालुले पेश गरेको प्रगति र कोषाध्यक्ष तिलकुमारी रानाले पेश गरेको आर्थिक प्रतिवेदनलाई छलफलसहित पारित गरेको छ ।

यसैगरी मिलन अक्षयकोष कार्यविधि–२०७७, टेलिवर्क र स्वार्थ बाझिने अवस्थाको व्यवस्थापनसम्बन्धी निर्देशिका तथा मिलन म्याग्दीको पञ्चवर्षीय रणनीतिक योजना समेत साधारणसभाले पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष शिव बानियाँको अध्यक्षता, उपाध्यक्ष कमला थापाको स्वागत र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply