झण्डै ३ बर्ष अघि दुई पार्टी एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रमा विभाजीत भएसंगै पर्वत जिल्लामा पनि त्यसको प्रभाव देखिएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले देशभर बेग्ला बेग्लै भेलाहरु गरीरहेका छन् । दाहालसंग नेकपाका अर्का नेता माधव नेपाल पनि सहभागी छन् । केन्द्रमा देखिएको फुटको संकत पर्वत जिल्लामा पनि देखिएको हो । दुवै पक्षले आफूलाई संस्थापन भन्दै अलग अलग स्थानमा भेला गरीरहेका छन् ।

साविक एमालेको पार्टी कार्यालयलाई नेकपाको पार्टी कार्यालयको रुपमा प्रयोग हुँदै आएको थियो तर दुवै समूहले पार्टी कार्यालयमा नभई अन्य स्थानहरुमा भेला तथा वैठकहरु गरीरहेका छन् । नेकपा भित्रको आन्तरीक समस्या पार्टी कार्यालयमा ब्यक्त नगर्ने भन्दै दु्वै समूहले अलग अलग स्थानमा वैठक र भेला गरेका हुन् ।

औपचारिक रुपमा प्रचण्ड समूहले माधव नेपाल पक्षधरका नेता तथा कार्यकर्ता लिएर केहि दिन अघि पर्वत उद्योग बाणिज्य संघको सभाहलमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्यो । त्यो भेलामा केपी ओली निकट नेताहरुको उपस्थिती देखिएनन् ।

प्रचण्ड तथा माधव नेपाल समूहका कार्यकर्ताहरुको अगुवाईमा ओली विरुद्ध सडक प्रदर्शन समेत भयो । उता, ओली समूहले भने औपचारिक रुपमा कुश्मा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । बन्दना होटलमा ओली समूहको भेला भइरहँदा प्रचण्ड समूहले भने उद्योग बाणिज्य संघको हलमा अगुवा कार्यकर्ता भेला गरयो ।

ओली समूहले होटल माउन्टेन भ्यूमा युवा संघको अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । आगामी पुस २२ गते बृहत युवा भेला गर्ने र २५ गते जिल्ला भेला गर्ने ओली समूहको तयारी छ । उता, माधव समूहले पनि आन्तरीक रुपमा भेलाहरुको आयोजना गर्ने गरी तयारी गरेको छ । पूर्व माओवादी निकट प्रचण्ड र पूर्व एमाले निकट माधव नेपालका दुई समूह मिलेर जिल्लामा पनि ओली समूहलाई काउन्टर दिने गरी तयारी गरे पनि भेलाको उपस्थिती भने ओली समूहको धेरै देखिन थालेको छ ।

जिल्ला कमिटिमा र कतिपय कमिटिहरुको संख्यामा ओली समूह कमजोर रहे पनि जिल्लामा रहेका पूर्व एमालेका अगुवा नेताहरु भने ओली समूहमा देखिएका छन् । जिल्ला अध्यक्ष तथा पूर्व सांसद पदम गिरी, प्रदेश सरकारका मन्त्री विकास लम्सालले ओली समूहको नेतृत्व गरीरहेका छन् ।

श्रोतका अनुसार पूर्व एमालेले जितेका ३७ वटा वडाहरु मध्ये दुई तिहाई वडाअध्यक्षहरु ओली समूहमा रहेको बताईन्छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि। पौडेल देखि बहुमत स्थानीय तहका जनप्रतिनिधिहरु पनि ओली समूहमा खुलेर लागेका छन् । उता, प्रचण्ड र माधव समूहमा भने पूर्व माओवादी धारका सवै नेता खुलेका छन् ।

पूर्व एमाले तर्फका पुराना नेताहरु मोती पौडेल, गणेश पौडेल र एमालेका पूर्व सचिव पदमपाणी शर्मा देखिएका छन् । प्रचण्ड र माधव समूहमा लागेका कतिपय नेता तथा कार्यकर्ताहरुले भने सूर्य चिन्हको प्रतिक्षा गरेको बताउँछन् । पूर्व माओवादी धारसंग मिसिएका पूर्व एमालेका नेताहरुले केन्द्रको समिकरणका कारण जिल्लामा पनि समिकरण गरिएको बताउँदै आएका छन् ।

जनवर्गिय संगठनहरुमा भने जिल्लामा ओली समूहको बर्चश्व देखिएको छ । युवा संघ, अखिल नेपाल महिला संघ, प्रेस संगठन लगाएतका जनवर्गिय संगठनहरुमा भने ओली समूहको पकड छ । अनेरास्वीयूको नेतृत्व भने प्रचण्ड समूहको देखिएको छ । ओली समूहले पालिका स्तरीय भेला, प्रशिक्षण र वैठकहरुको आयोजना गर्ने कार्यलाई तिव्रता दिएको छ । उता, प्रचण्ड समूह पनि संग संगै स्थानीय तहहरुको भेलाहरुमा जुटेको छ ।

टुट र फुटको राजनीतिले जिल्लामा कम्युनिष्ट पार्टी कमजोर हुने कार्यकर्ताहरुले बताउँदै आए पनि पर्वतमा पनि केन्द्रको विभाजनको पूर्ण संकेत देखिएको हो । पछिल्लो संसदीय दलको निर्वाचनमा २ प्रदेश र एक संघीय निर्वाचन तत्कालीन बाम गठबन्धले जितेको थियो । उता, स्थानीय तहमा भने साविका एमाले एक्लैले ७ वटा पालिका मध्ये ४ स्थानीय तह र ६१ वडा मध्ये ३७ वटा वडाहरुमा विजयी हासिल गरेको थियो ।

साविक माओवादीले भने स्थानीय तहमा ४ वडाहरुमा मात्र जित हासिल गरेको थियो । दुई पार्टीको एकिकरण हुँदा सवै स्थानीय तहहरुमा जित सुरक्षित देखिए पनि पार्टीमा आएको फुटले भने कम्युनिष्ट पार्टीको भविश्य कस्तो हुन्छ आगामी निर्वाचनले मात्र देखिने भएको छ । साभार अर्थ बिट साप्ताहिक

Leave a Reply