म्याग्दीको रघुगंगा गाउँपालिका-४,दग्नामका हस्तबहादुर पुनले गाउँमा रहेको जनता माविसँग जग्गा नहुँदा भवन निर्माणमा समस्या देखिएपछि विद्यालयका लागि १० रोपनी जग्गा निःशुल्क दान गरे ।

भवन नहुँदा विद्यार्थी साँघुरो भवन तथा खुला चौरमै पढ्न बाध्य विद्यार्थीले अहिले हस्तबहादुरले दिएको जग्गामा बनेको भवनमा अध्ययन गर्छन् । विद्यालयको भवन निमार्णका लागि राजिखुसीले जग्गा दान गरेको हस्तबहादुरले दान गरेको जग्गामा बनेको भवनमा विद्यार्थीले पढेको हेर्ने चाहना पुरा भएपछि धेरैपटक विद्यालयमा पुगेर खुसी पनि साटासाट गरेका छन् ।

गाउँका हरेक गतिविधिमा हरेक प्रकारको सहयोग गरेका हस्तबहादुर अहिले क्यान्सर जस्तो घातक रोगसँग जिन्दगीको कडा लडाइँ लडिरहेकाछन् । गाउँमा समान्य कृषि पेशामा आवद्ध रहेका पुनको दायाँ खुट्टामा क्यान्सर भएपनि उपचार गर्न पैसा छैन।

विद्यालयलाई लाखौं पर्ने जग्गा दान दिएका हस्तबहादुर अहिले आफ्नै उपचारमा सहयोगको याचना गरिरहेका छन् । ‘उहाँको गाउँमा ठूलो योगदान छ,‘सधै गाउँमा सहयोग गर्ने हस्तबहादुरले आफ्नै उपचारका लागि सहयोगको याचना गर्नुभएको छ’ स्थानीय मोहन तिलिजाले भने ।

उनले खुट्टामा देखिएको क्यान्सरको उपचारका लागि चिकित्सकले खर्च धेरै हुने, नियमित किमो चढाउनुपर्ने, औषधी लगायतका खर्च जुटाउन भनेपछि सहयोगको याचना गरिएको अभियानका संयोजक समेत रहेका तिलिजाले बताए । उनले दग्नामबाट स्वदेश तथा विदेशमा रहेकालाई अभियानमा साथ दिन अपिल गरेको बताए ।

Leave a Reply