हिमाली भेगमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

मुस्ताङको माथिल्लो भेग लोमान्थाङको तापक्रम माइनस १६ डिग्रीमा झरेको स्थानीय व्यवसायी छेवाङ गुरुङले बताए । उनका अनुसार सोमबार बिहानैदेखि अधिक चिसो बढेको छ । चिसो हावाले जनजीवन समेत प्रभावित भएको उनले बताए ।  ‘हिउँ त परेको छैन, तर, अधिक चिसोले हिडडुल नै कठिन छ,’ उनले भने, ‘तरपनि स्थानीयबासि नजिकका दुरीसम्म हिडडुल गरिरहेका छन् ।

तर टाढाको दुरीसम्म हिडडुल भने भएको छैन ।’ घरबाहिर निस्केका गाउँलेले पनि बाक्लो कपडा लगाएका छन् । ‘हिडडुल नै गरेन भने झनै अप्ठेरो हुने भन्दै स्थानीय गाउँ आसपासका डुल्ने गरेको उनले बताए।

उनका अनुसार लोमान्थाङ क्षेत्रमा पानी पनि उत्तिकै जमेको छ । धारामा पानी आउन छाडेको उनले बताए । ‘घरभित्र भाडामा राखेको पानी त जमेको छैन । तर बाहिर त जमेको छ,’ उनले भने ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)का जोमसोमस्थित प्रमुख तुलसी दाहालका अनुसार सदरमुकामको तापक्रम अहिले ५ डिग्री छ ।

तर रातीमा माइनस ८ डिग्रीसम्म ओर्लिने गर्छ । ‘लोमान्थाङ क्षेत्रको बसोबास बढी कठिनपूर्ण बनेको छ,’ उनले भने, ‘पानी जम्दा बढी कठिन छ ।’ उनका अनुसार सदरमुकाम जोमसोममा पनि बिहान ९ बजेसम्म पानी जमेको हुन्छ ।

 

Leave a Reply