संसारभर कोरोना भाइरसविरुद्ध खोपको तयारी भैरहेको बेला बागलुङका एक वैज्ञानिक सहभागि तीनजनाको समूहले उपचार पद्दतीको सफल परीक्षण गरेको दाबी गरेका छन् । अमेरिकाको ‘एसटी जुड बाल अस्पताल’की प्रोफेसर थिरमलादेवी कान्नगाण्तीको ल्याबमा वैज्ञानिक भेषराज शर्मा पौडेल र राजेन्द्र कार्कीसमेतले सफल उपचार पद्दती प्रमाणित गरेका हुन् ।

उनीहरुको सफल उपचार पद्दती प्रमाणित भएको अनुसन्धान विवरण अस्पतालको अन्तराष्ट्रिय जर्नलमा प्रकाशित भएको छ । पौडेल बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटाका र कार्की पोखराका हुन् । पौडेलले कोरियाबाट एमफिल र फिएचडी गरेका हुन् । अमेरिकामा पुगेर उनले पोष्ट पिएचडी गरेका थिए । उनीहरुले मुसामा खोपको प्रयोग गरेर प्रमाणित भएपछि मानव शरीरमा प्रयोगको तयारी गरेका हुन् ।

कोरोना संक्रमित बिरामीको रगत र इम्युन सेल ल्याएर हेर्दा प्रोटिनको मात्रा बढेको देखिएको पौडेलले बताए । यस्तो प्रोटिनले अर्गान र कोषलाई नष्ट गरेको देखिएको उनले बताए । त्यस्ता मानिसको अर्गान र कोष नष्ट हुन नदिनका लागि तयार पारिएको खोपनै कोरोनाविरुद्धको खोप भएको उनले बताए । बिरामीको इम्युन सेल बाहिर जम्मा गरेपछि इएनएफ र इन्टर फ्रेमोनगामा बढी भएको देखिएको र त्यसलाई घटउन खोप प्रयोग भएको उनले बताए ।

अर्थात् सामान्य मानिसको शरीरको प्रोटिनभन्दा यी दुई प्रकारका प्रोटिन कोरोना संक्रमितमा देखिएकोले ती दुई प्रोटिन घटाउने गरी उपचार पद्दती थाल्दा सफल भएको जर्नलमा उल्लेख छ । सोही प्रकारको उपचार पद्धती थाल्दा सफल भएको उनले दाबीसमेत गरेका छन् ।

मानिसको शरीरको प्रोटिनको मात्रा अध्ययन गर्नुअघि उनीहरुले मुसामा अध्ययन गरेका थिए । मुसामा यस्तै प्रकृति भेटिएपछि उपचार पद्दतीनै मुसाबाट भएको हो । कोरोना संक्रमित मुसाको पनि मृगौला र कलेजोमा असर परेको देखिएको थियो । उनीहरुले तयार गरेको खोप दिंदा कोरोना भाइरस मरेको प्रमाणित गरेपछि अस्पतालले पनि उनीहरुको थप परीक्षण गराएको थियो ।

उक्त अस्पतालले प्रकाशित गरेको जर्नलमा आफ्नो सफलताको विषयको रुपमा कोरोना भाइरसविरुद्धको खोप पत्ता लागेको जनाइएको छ । पौडेलले पनि आफ्नो जीवनमा राम्रो सफलता पाएको बताए ।

‘हामीले निरन्तरको अध्ययनबाट यो सफलता पाएका छौं, आम मानिसमा खोप लगाएर त्यसको परिणाम पनि सफल भएको हेर्न चाहन्छौं’ उनले भने, ‘यो अभियानमा अस्पतालले हामीलाई दिएको अवसरले सफलता प्राप्त भएको हो ।’ अमेरिकामा बसेर उनले क्यान्सरविरुद्धको औषधि निर्माण तथा अध्ययनमा पनि काम गरिरहेका छन् ।

यो अध्ययनबाट उनीहरुले मानिसको शरीरमा कुन तत्व असल, कुन खराब छन् भन्ने पत्ता लगाउनु नै ठूलो सफलता हुने जानकारी लिन सकेको बताए । उनले खोप भनेर कुनै छुट्टै बस्तु नभई मानव शरीरमा हानिकारक मानिने व्याक्टेरिया र भाइरस मात्रै हटाइदिंदा उपचार संभव बन्ने बताए ।

‘शरीरमा चाहिने भाइरस पनि हुन्छन्, नचाहिने भाइरस पनि उत्पादन हुन्छ’ उनले भने, ‘अनावस्यक भाइरसले शरीरका सबै प्रणालीमा असर गर्छ, त्यसलाई मार्ने कामनै उपचार वा खोप हो ।’ उनले हरेक ल्याबमा गरिएका अध्ययन यस्तै प्रकृतिको भएको बताए । उत्पादन भएको खोपलाई कुन तापक्रममा राख्ने, कति दिनसम्म राख्न सकिन्छ भन्ने चाहिं उनीहरुले प्रयोग गरेका तत्व, औषधिको मात्रा र ल्याब अनुसार फरक हुन सक्ने बताए ।

यसअघि कुन प्रकारका जडिवुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने समेत नेपाली वैज्ञानिकले अध्ययन गरेका थिए । उनीहरुको अध्ययनबाट मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन १ सय ३६ वटा यौगिक पत्ता लागेका थिए ।

तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातीका भाइरस संक्रमण हुँदा उपचारमा प्रयोग हुने समेत पत्ता लागेको थियो । शर्माका अनुसार, मानव शरीरमा प्रवेश गरेको भाइरसलाई बढ्न नदिने, मार्ने वा घटनाउने पद्दती बनाइन्छ । तीमध्ये कुन विधि उपयुक्त हुन्छ सोही अनुसारको उपचार गरिने समेत शर्माले बताए । मानिसको शरीरको प्रकृति अनुसार उपचार पद्दतीमा केही भिन्नता हुने उनको तर्क छ । ढोरपाटन दैनिकबाट साभार

Leave a Reply