पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दानाका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले फेरी अर्को किर्तिमानी बनाउने तयारीमा जुटेका छन् ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका पूर्जाले यतिबेला संसारकै दोस्रो अग्लो हिमाल ‘के–टु’लाई जाडोयाममा चढ्ने पहिलो आरोहीको रुपमा रेकर्ड बनाउने प्रयासमा जुटेका छन् ।

पाकिस्तान र चीनको सिमानामा अवस्थित ८ हजार ६ सय ११ मिटर अग्लो के–टु’ हिमालको शिखरमा यसै साता आरोहण गर्ने पूर्जाको योजना रहेको उनका दाजु कमलबहादुर पूर्जाले बताए ।  ‘हिमाल उसको साथीजस्तै भइसक्यो,‘हरेक आरोहण अगाडी उसले धेरै मेहनत गर्छ’ पूर्जाले भने । उनले भाई निर्मल आरोहणको क्षेत्रमा विश्वमा आफ्नो किर्तिमानी तोड्न नसक्ने गरी नयाँ र सबैले आश्चर्य मान्ने आरोहणमा रमाउने गरेको बताए ।

जाडो सिजनमा माइनस ८० डिग्रीको तापक्रम र १ सय माइल प्रतिघण्टाको बायू गतिजस्ता प्रतिकुल अवस्थामा समेत आरोहण रच्ने प्रयासले विश्वभरका पर्वतारोहीको नजर पूर्जातर्फ सोझिएको छ । विश्वकै अग्लो सगरमाथा हिमालपछि के–टु’ आरोहणका लागि निकै चुनौतीपूर्ण मानिने हिमाल हो ।

गतबर्ष विश्वभर रहेका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालको आरोहणका क्रममा समेत पूर्जाले के–टु हिमालको आरोहण गरेका थिए । हिमाल आरोहणका क्रममा फसेका आरोहीलाई उद्धार गरेर समेत पूर्जाले चर्चा कमाएका थिए । विश्वभरका पर्वतारोहीले के–टु हिमाललाई किलर हिमालको रुपमा समेत चर्चा गर्ने गरेका छन् ।

बेलायती पत्रिका डेली मेलका अनुसार हालसम्म ३ सय ६७ जनाले सफल आरोहण गरेको के–टु मा जाडो सिजनमा कसैले पनि आरोहण गर्न सकेका छैनन्। अनुकुल मौसममै आरोहण गर्न गएका मध्ये ८७ जनाले ज्यान गुमाइसकेका छन् । विन्टर सिजन’ मा साना हिमाल आरोहणमा समेत हिमपात र बाटो बनाउन नसक्दा साना हिमाल आरोहणमा समेत सकस हुने गरेको छ ।

गत बर्षको बैशाख १० गते आफ्नै जन्मभूमिमा रहेको अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गरेका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण गर्ने पहिलो म्याग्देली समेत हुन् । उनले धौलागिरी हिमालमा विना अक्सिजन आरोहण गरेका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।,

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । पूर्जालाई गतबर्ष राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा किर्तिमय राष्ट्रदिप पदकबाट विभुषितको घोषणा समेत गरेकी थिईन् । उनले दुलर्भ आरोहणसँगै आफ्नो आत्मकथा ‘वियोण्ड पोसिबल’ समेत सार्वजनिक गरिसकेका छन् ।

 

 

Leave a Reply