बेनी-बागलुङ सडकखण्डको रानीबनमा सडक छेउमै बेनी नगरपालिका-४, सिंगास्थीत धौलागिरी माविका शिक्षक रमेश बोगटीसँग चितुवाको जम्काभेट भयो । बेनीबाट रत्नेचौरतर्फ जाँदै गरेका बोगटीलाई चितुवाले करिब ५ सेकेन्ड पच्छायो ।

बोगटीजस्तै उक्त सडकखण्डमा नियमित सवारीासाधनमा आवतजावत गर्ने धेरैले चितुवालाई नजिकबाट देखेका छन् । सडकखण्डको जंगल क्षेत्रमा साँझ र विहानपख चितुवाको त्रास रहेको बोगटीले बताए । ‘सडक छेउमै देखिने चितुवाले आक्रमण गर्न गरेको छ,‘चितुवा आतंक दिनानु दिन बढ्दै गएको छ’ बोगटीले भने ।

रत्नेचौरसँगै सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा समेत चरीबाघ र चितुवा देखिन थालेपछि नियन्त्रणको माग गरिएको छ । बेनी–महारानीथान हुदै अथुंङे जाने सडकखण्डमा बुधबार विहान चितुवा सडकमै देखिएको बेनी सामुदायिक माविका शिक्षक सुनिल बानियाँले बताए ।

बेनी-अर्थुुङ्गे क्षेत्रको बराहपाखो समुदायिक बन आसपासका क्षेत्रमा चितुवाभन्दा पनि चरीबाघ धेरै देखिने गरेको डिभिजन बन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए । ‘एकसाता यता चितुवा देखिएका धेरै जानकारी प्राप्त भएको छ,‘सम्भव भएको ठाउँमा प्राविधिकको टोली नै पठाइएको छ’ खनालले बेनीअनलाइनलाई भने । उनले बस्तीमा पोथी चितुवा बच्चासँगै बस्ती आसपासका क्षेत्रमा देखिएको बताए।

बच्चालाई आक्रणबाट जोगाउन पोथी चितुवासँग जम्काभेट भएमा आक्रमण गर्न सक्ने प्रमुख खनालको भनाई छ । उनले चितुवा देखेमा हो–हल्ला गरेपछि भाग्ने बताए । म्याग्दीमा बस्ती आसपासका क्षेत्रबाट उद्धार गरिएका चितुवालाई विगतमा सोही ठाउँको सामुदायिक बनमा छोड्ने गरिएकाले पनि बेलाबेलामा आतंक मच्चाउने गरेकाले पछिल्ला समय उद्धार गरिएका चितुवालाई जिल्ला बाहिर पठाउने गरिएको छ ।

Leave a Reply