बेनी-जोमसोम कोरला सडकको मुख्य प्रवेशद्वार म्याग्दीको सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा कालोपत्रको काम सुरू भएको छ । पक्की पुलदेखि पेट्रोल पम्पसम्मको सडक कालोपत्र गरिने पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ । गण्डकी प्रदेश सरकार अन्तरगत पूर्वाधार कार्यालयले कालोपत्रेको बाँकी काम सुरु गरेको कार्यालय प्रमुख नवराज पौडेलले बताए । पूर्वाधार कार्यालयमार्फत ४ करोड ५० लाखको ठेक्कामा निर्माण व्यवसायी विपिन खड्कामार्फत भइरहेको काम करिब साढे दुई करोडको काम सम्पन्न भएको र थप १ करोडभन्दा बढी बजेट आवश्यक रहेको जनाइएको छ । कालिपुलमा करिब ८ सय मिटर कालोपत्रेको गरिने छ । कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिएपनि सुनुवाई हुन नसकेको छैन् ।म्याग्दीमा सदरमुकाम बेनी बाहेक रत्नेचौरमा कालोपत्रे गरिएको छ । जिल्लाभित्र कुल ११ किलोमिटर सडकमा करिब ७ किलोमिटर मात्रै कालोपत्रे भएपनि अधिकांस उप्किएको छ ।

 

स्मार्ट बसपार्क नारा मात्रै
म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालीपुलमा स्मार्ट बसपार्क निर्माणका लागि २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि न्यून बजेट विनियोजन गर्ने गरिएको छ ।

बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार कालीपुल बसपार्कमा ५० लाख विनियोजन भएकाले आयोजनालाई अगाडि बढाउन जटिलता भएकाले बहुवर्षीय योजनाको माग गरिएपनि सम्बन्धित निकायले चासो देखाएको छैन् ।

बसपार्कको गुरूयोजनामा टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवनलगायत नमूना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारसहितको संरचना बनाउन प्रस्ताव गरिएको छ ।

बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारीसाधन पार्किङ गरिदाँ कुरूप देखिएको छ । बसपार्क करिव २७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply