पछिल्लो समय निकै चर्चा बटुलेको बेनी नगरपालिका-२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिलमा राष्ट्रिय झण्डा अनावरण गरिएको छ । बिहिबार लायन्स क्लव अफ बेनी म्याग्दीले घुम्न जाने पर्यटकलाई लक्षित गरी झण्डा अनारवरण सहित विविधि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले नगरभित्र धेरै धार्मिक तथा पर्यटकीयस्थलहरु रहेकाले प्रचारप्रसार र पूर्वाधारको आवश्यकता रहेको बताईन् । उनले लभ्लीहिलमा नगरपालिकाले पदमार्गमा झण्डै ४० लाख लगायतका अन्य विभिन्न संरचना बनाउन समेत सहयोग गरेको बताईन् ।

वडा अध्यक्ष हिराबहादुर थापाले लभ्लीहिलले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने भएकाले थप पूर्वाधारमा स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।

लभ्लीहिलमा घुम्न जानेलाई फोटो, भिडियो मिल्न लिने गरी भण्डा राखिएको छ । विगतमा राखिएका झण्डा दिगो नभएपछि क्लवले फलाम प्रयोग गरी संरचना बनाएर झण्डा राखेको क्लवका अध्यक्ष सुमन श्रेष्ठले बताए । उनले क्लवमार्फत लभ्लीहिलमा थप अन्य विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताए ।

झण्डा अनारवणमा क्लवका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, पूर्व अध्यक्ष सन्तोष रावल लगायतको उपस्थिती रहेको थियो । लायन्स क्लव अफ बेनीको अगुवाईमा लायन्स क्लव अफ लभ्लीहिल समेत गठन भएको छ । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

Leave a Reply