म्याग्दीको मालिका गाउँपालिका-६, दरबाङमा १० शैयाको अस्पताल बन्ने भएको छ। नेपाल सरकारले हरेक स्थानीय तहमा भुगोल र जनसंख्याको आधारमा आधारभुत अस्पताल स्थापना तथा स्तरोन्नती गर्ने लक्ष्य अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा रुपान्तरण गरिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति तथा योजना शाखाले पुस २१ गते जारी गरेको दरबाङमा १० शैयाको अस्पताल बनाउन तोकिएको मापदण्ड अनुसारको जग्गा ब्यवस्थापन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), गाउँकार्यपालिकाको बैठकको निर्णय सहित जिससको सिफारिस लगायतको प्रक्रिया पुरा गरेलगत्तै आगामी आवमा अस्पतालको काम सुरु हुने मन्त्रालयका तथ्याङ्क अधिकृत सुर्यबहादुर खड्काले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

यसअगाडी अस्पताल बनाउन गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको पहलमा निक साइमन इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा अस्पताल ब्यवस्थापनमा सदृुढीकरण न्यूनतम अन्तरगत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन सम्बन्धि कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

दरबाङमा प्रसुती सेवा, जटिल अप्रेसन सहितका अन्य सुविधाहरु समेत विस्तार गरी पश्चिम म्याग्दीका तीन गाउँपालिका र छिमेकी बागलुङ र रुकुम जिल्लाका बासिन्दालाई समेत सेवा दिने उदेश्य रहेको छ ।

दरबाङमा बन्ने अस्पतालमा निक साइमनले समेत चिकित्सक सहित जनशक्ती, उपकरण र सेवा विस्तारमा समेत सघाउने प्रतिबद्धता जनाएको छ । निक साइमनको गुणस्तरीय सेवाले बेनी अस्पताल अब्बल बनेको छ। म्याग्दीमा चालु आवमा रघुगंगा गाउँपालिकामा १० शैया, मंगला गाउँपालिकामा १० शैया र धवलागिरी गाउँपालिकामा ५ शैयाको अस्पताल निर्माणको काम सुरु भएको छ।

Leave a Reply