अन्तत धवलागिरी गाउँपालिकाको पाँच शैयाको अस्पताल वडा नं ७ ताकममा बन्ने भएको छ । अस्पताल बनाउने स्थानका बिषयमा लामो समय भएको विवादका बिच गाउँपालिकाले नेपाल सरकार ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पताल बनाउने गरी एक समारोहका बिच शिलान्यास गरेको छ ।

ताकममा आयोजित कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले अस्पतालको शिलन्यास गरेसँगै अस्पताल बनाउने स्थानका विषयमा स्थानीयबिच भएको विवाद समेत टुंगिएको छ ।

यसअगाडी वडा नं ७ कै धारापानीमा अस्पताल बनाउन गाउँकार्यपालिकाको बैठकले निर्णय गरेपनि कानुनी जटिलता र मन्त्रालयले स्वास्थ्य चौकीलाई नै स्तरोउन्नती गर्ने प्रावधानलाई टेकेर ताकममा शिलन्यास गरिएको हो । पूर्व निर्धारित स्थानमा अस्पताल बनाउन माग गदैं धारापानीबासीले आन्दोलन समेत गरेका थिए ।

शिलन्यासको अवसरमा बाजागाजा सहित खुसीयाली मनाएका ताकमबासीले अस्पताल भवन निर्माण हुने जग्गाका दाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो । शिलन्यास कार्यक्रममा सांसद थापाले आफ्नो प्रयासमा जिल्लामा थुप्रै बजेट आएको बताए।

उनले निर्बाचन क्षेत्र पुर्बाधार कार्यक्रमबाट ताकम माबिलाई दश लाख बिनियोजन गरेको र अस्पताल भवन संरक्षणका लागि योजना पार्न पहल गर्ने बताए ।

‘म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गराउन सफल भए,ताकम क्षेत्रमै धेरै बजेट आएको छ’ उनले भने । ताकमको कोत मन्दिर पुननिर्माणका लागि पचास लाख,ताकमको घनाबस्ति कार्यक्रमलाई एक करोड बिनियोजन लगायत धेरै योजनाहरुमा पहल गरेको बताए ।

कुल सात करोड १३ लाख रुपैयाँ लागत अनुमान गरिएको अस्पताल भवनको बहुबर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकालाई चालु आर्थिक वर्षमा सत्तरी लाख रुपैयाँ पठाएको छ ।

६६ लाख रुपैयाँ लागत अनुमान गरिएको चार कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्ट्रक्सनले ४७ लाख रुपैयाँमा ठेक्का लिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए । सोही अवसरमा जिसस प्रमुख देबेन्द्रबहादुर केसीले वडा कार्यालयको भवन शिलन्यास गरेका थिए । वडा कार्यालय भवन निर्माणमा जिससले तीस लाख रुपैयाँ उपलब्ध गराएको छ ।

बाँकी लागत गाउँपालिकाले ब्यहोर्ने प्रशासकीय अधिकृत शर्माको भनाई छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले सर्वोच्च अदालतमा बिचाराधिन स्थायी केन्द्रको मुद्दालाई थाति राखेर लामो प्रयासपछि अस्पताल बनाउने ठाउँ छनौट गरि योजना कार्यान्वयन सुरु गरेको बताए ।

उनले ताकममा कोरोना अस्पताल स्थापना भएको जानकारी दिदै उपाध्यक्ष छन्त्यालले एम्बुलेन्स पनि सञ्चालनको तयारी भएको बताए । वडा अध्यक्ष कलानिधी सुबेदीको अध्यक्षता, ताकम घनाबस्ती कार्यक्रममा तेजिन्द्र थापाको स्वागत र स्थानीय युवा रुपक सुबेदीको सञ्चालनमा भएको थियो । यसबर्ष म्याग्दीमा धवलागिरी बाहेक रघुगंगा र मंगलामा १०÷१० शैयाको अस्पताल बन्दैछ । रघुगंगा र धवलागिरीमा अस्पताल बन्ने स्थानको छनौट विवाद भएको थियो । तस्वीर सौजन्य गोपाल आचार्य

Leave a Reply