पहिरोका कारण पूर्णरुपमा विस्थापित भएकाको पुर्नवासका लागि म्याग्दीको मालिका गाउँपालिका–७, बिममा आवास पुननिर्माण सुरु भएको छ । पहिरोले घरजग्गा बगाएपछि छिमेकी र आफन्तको घरमा विस्थापित जिवन विताइरहेका १२ घरपरिवारलाई लक्षित गरी एकिकृत बस्ती निर्माण सुरु भएको हो।

मालिका बिम संघले तल्लोबोट गाउँमा रू २० लाखमा खरिद गरेको ५ रोपनी जमिनमा आवास निर्माणको काम सुरु भएको वडा अध्यक्ष रेशम जुग्जालीले बताए । ‘पहिरोचरणमा घर भत्किएको र अन्यत्र जग्गा नभएका परिवारलाई ब्यवस्थापन गछौं,‘ बर्र्खा अगाडी सबै विस्थापितको पुर्नवास सम्पन्न हुन्छ’ अध्यक्ष जुग्जालीले भने।

गत असार २५ र २६ गते बस्ती माथिबाट आएको पहिरोले बिमको बाइनाफाँट, तल्लोगाउँ, नौरुङ र दुलेमा ३३ वटा घर पूर्णरुपमा क्षती भएको थियो भने ८ जनाको मृत्यु र एक बेपत्ता भएका थिए । विस्थापितमध्ये २० घरपरिवारको गाउँमा जग्गाजमिन भएकाले पुर्नबासमा सहज हुने वडा अध्यक्ष जुग्जालीले बताए ।

बिम मालिका संघले खरिद गरेको जग्गामा मोना अन्तराष्ट्रियले १० घर बनाउने समझदारी समेत भएको छ । गाउँपालिका, मोना बिचको समझदारीमा गाउँपालिकाले जग्गा सम्माउने, पानी, बिजुली लगायतका आवश्यक पूर्वाधार बनाउने छ ।

बाढीपहिरोबाट विस्थापित भएकालाई प्रवासमा रहेका बिमबासीको सक्रियतामा संकलन भएको आर्थिकले पुर्नबासको अभियानमा सहज भएको मोना आइइसीका पुर्नबास अभियानका सदस्य एवम् मोना हङकङका पूर्व अध्यक्ष दल शेरपुजाले बताए । पुर्नबास अभियानलाई तिब्रता दिन शेरपुजा हङकङबाट नेपाल आएका थिए ।

बिमको पुर्नबासमा वडाभित्रका सबै घरधुरीले एकदिनको श्रमदान दिने सहमति समेत भएको छ । बिम मालिका संघका अन्तराष्ट्रिय विभाग प्रमुख कृष्ण जुग्जालीले पीडितलाई आवश्यक संचरना बनाएर हस्तान्तरणले मात्रै अभियान सफल हुने बताए ।

मोना र ओमकुमारी शान्ति कोषले तयार पारेको डिजाइनमा ५ लाखमा ३ कोठे भवन र एक कोठे शौचालय बनाउन सकिन्छ । म्याग्दीमा बाढीपहिरोबाट विस्थापितलाई पुर्नबासका लागि आवश्यक पर्ने जग्गा ब्यवस्थापन लगत्तै संरचना निर्माणको काम सुरु गरिने स्थानीय तहले जनाएको छ ।

Leave a Reply