गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (ओली) समुहका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टी भित्रकै नेताहरुले प्रतिनिधि सभा विगठन गर्न बाध्य पारेको बताउनुभएको छ । पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा (ओली) समुहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिएकाले संसद विगठन गर्नुपरेको बताउनुभयो ।

गुरुङले प्रचण्ड र माधवकुमार नेपालका क्रियाकलाप राष्ट्रियता विरोधी भएको आरोप लगाउँदै मुलुक यो परिस्थितिमा ल्याउनमा तीनै दुई जनाको मुख्य भूमिका रहेको बताउनुभयो । कुर्चिको लोभमा प्रचण्ड र नेपालले देश, सरकार र राष्ट्रियता विरोधी क्रियाकलाप गरेको आरोप लगाउँदै दुई जनाको कुर्चि मोह र पद लोलुपताले नेकपा विभाजनको सँघारमा पुगेको बताउनुभयो ।

वैशाखसम्मको महाधिवेशन कुर्न नसकेर माधव नेपालले दोस्रो अध्यक्ष हुन प्रचण्डको बुई चढेको समेत गुरुङको भनाई रहेको छ । उहाँले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुनुको विकल्प नभएको बताउँदै आगामी वैशाखमा हुने निर्वाचनवाट त्यस्ता तत्वहरु निमिट्यान्न हुने ठोकुवा गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै सत्ताको लोभले गर्दा सडकमा पुग्नुपरेको बताउनुभयो । उहाँले मुलुकको सिमाना मिचिंदा आवाज उठाउने, गुमेको जमिन फिर्ता ल्याउने राष्ट्रप्रेमी प्रधानमन्त्री ओलीको पक्षमा गोलबन्द हुन आग्रह गर्दै पार्टीवाट चोईटिएर जाने देश द्रोहीको भण्डाफोर गर्न आग्रह गर्नुभयो ।


गुरुङले पार्टीको संसदीय दलमा छलफल नगर्ने तर संसदमा पुगेर अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा यो दुर्घटना भएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपतिलाइ खुइल्याउँदा गणतन्त्रनै खुइलिने खतरा हुने चेतावनी दिनुभएको छ । उहाँले सम्मानीत संस्थालाई जथाभावी गर्नेले देशको राष्ट्रियतापनि संरक्षण गर्न नसक्ने ठोकुवा समेत गर्नुभएको छ । गुरुङले पार्टीवाट चोईटिएर गएको झुण्डले आफुलाई आधिकारीक भन्दै कोहोलो हाल्नु हास्यास्पद भएको बताउँदै भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ ।

उहाँले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्न समेत नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पुष्कमल दाहाल जेट विमानको को पाईलट हुन असफल भएको बताउनुभयो ।

उहाँले कार्यकारी अध्यक्षको भूमिका निभाउन छाडेर सरकारको लोभ गर्दा प्रचण्ड पत्तासाफ हुने अवस्थामा पुगेको बताउँदै माधव नेपाल र झलनाथ जस्ता नेताहरु पनि उनको प्रलोभनमा परेर आफ्नो हैसियत गुमाएको बताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद मन कुमारी केसीले सडकमा गएर आफ्नो राजनैतिक हैसियतनै गुमाउँदै राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नुको कुनै अर्थ नहुने बताउनुभयो ।

उहाँले राजनीतिक सस्कार सिक्न प्रचण्ड माधव समुहका नेताहरुलाई आग्रह गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य पदम गिरीले यो मुलुकको आधिकारीक नेकपा भनेकै ओलीले नेतृत्व गरेको पार्टी भएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

उहाँले पार्टीको सांठनिक विकास र आगामी निर्वाचनमा गोलबन्द भएर लाग्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य विमल लामिछानेले पार्टीको पार्टीको हितका निम्ति सम्पुणर् युवाहरु एकाकार भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिबालय सदस्य शिवप्रसाद पौडेल र संचालन कार्यालय सदस्य गोविन्द पहाडीले गर्नुभएको थियो । यस अघि कुश्माबजारमा जुलुस समेत प्रदर्शन गरिएको थियो । जुलुसमा सहभागिहरुले प्रधानमन्त्रीको पक्षमा नारावाजी गरेका थिए ।

Leave a Reply