म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नामको कहालीलाग्दो अजिंगर भिर फुटाउन सफल भएसँगै दुबैतर्फबाट सडक सञ्जाल जोडिएको छ। जिल्लामै डरलाग्दो अक्करे मानिने दग्नामको अजिंगर भिरमा मजदुरले झुन्डिएर, स्काभेटर र विष्फोटक पदार्थको प्रयोग गरी दुबै तर्फको ट्याक खोलेसँगै गाउँपालिकाको केन्द्र मौवाफाटसँग तीनवटा वडा सडक सञ्जालमा जोडिएको हो।

चिमखोला र कुइनेमंगमा निर्माणाधिन जलबिद्युत आयोजना र स्थानीय र प्रदेश सरकारसँगको साझेदारीमा कडा चट्टानी पहाडलाई थिचोल्दै सडक विस्तार गरिपछि शनिबार पहिलोपटक दुर्वतर्फको ट्याक जोडिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिए ।

अजिंगर भिरमा सडक खन्न यो वर्ष गाँउपालिकाले एक करोड पचास लाख र गण्डकी प्रदेश सरकारले पचास लाख बिनियोजन गरेको थियो । जलबिद्युत आयोजनाहरुसँग ट्याक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएपछि सहज भएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

‘हाम्रो एउटा ठूलो सपना पुरा भएको छ,‘अब सडक स्तरोउन्नती सहित माथिल्लो क्षेत्रका सबै बस्तीमा सडक सञ्जाल पुर्याउने बाँकी काम पुरा हुन्छ’ अध्यक्ष भण्डारीले भने ।

अध्यक्ष भण्डारीले स्थानीय तहसँग जलविद्युतको साझेदारी, प्रदेश सरकारको साथले पनि सहज भएको बताए । मौवाफाँट–दग्नाम–दर्मीजा हुदै चिमखोला जोड्ने सडक रघुगंगा गाउँपालिकाको गौरवको आयोजना हो ।

मौवाफाट देखि दग्नाम हुदै अजिंगर भिर र चिमखोला देखि दर्मीजासम्मको ट्याक खोल्न गाउँपालिका, प्रदेश सरकार र जलबिद्युत आयोजनाले फरक फरक ठाउँमा काम गरेको थियो ।

दग्नाम सम्म पुगेको सडकलाई कुइनेमंगले सम्म पु¥याउन अजिंगर भिर अबरोध बनेको थियो । गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना सुरु भएको पाँच वर्ष भयो ।

स्थानीय तहमा जनप्रतिनिधि आएसँगै गौरबको आयोजना छनौंट गरी प्राथमिकताका साथ बजेट विनियोजन भएपछि सडक निर्माणले तिव्रता पाएको थियो । जलविद्युत आयोजनाहरुको सहयोगमा नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोगले सडक विस्तारमा सहज भएको छ ।

सडक सञ्जाल जोडिएसँगै दुर्गम कुईनेमंगलेमा उत्पादित कृषिजन्य बस्तु, जडिबुटीको निर्यातका साथै धार्मिक तथा पर्यटकीयस्थल रिखार, धौलागिरी हिमाल आसपासका क्षेत्रमा समेत आवतजावतमा सहज हुने छ । सडक सञ्जाल विस्तारको खवरले स्थानीय समेत उत्साहित छन् । सदरमुकाम बेनीसम्म आउन पैदल र सवारीसाधनको प्रयोग गरी १ दिनको यात्रा गर्ने स्थानीयले यात्रा छोटिने भएपछि उत्साहित छन् ।

यसअगाडी स्थानीयले भगवती, बेग– चिमखोला हुदै घ्यासीखर्क जोड्ने ५६ किलोमटिर दुरिका सडक घुमाउरो र बर्खाको समयमा समेत आवतजावतमा निकै सास्ती र लामो दुरीको भएकाले नयाँ सडक छोटो र सहज हुने छ । अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्दै हिड्ने स्थानीयलाई सडक विस्तार भएपछि ठूलै राहत मिलेको छ।

Leave a Reply