म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा राष्ट्रिय युवा संघको गाउँस्तरीय कमिटी गठन भएको छ । शनिबार डडुवामा सम्पन्न युवाहरुको भेलाले दिर्घबहादुर भण्डारीको संयोजकत्वमा ५५ सदस्यीय राष्ट्रिय युवा संघको गाउँ कमिटी गठन गरिएको हो ।

कमिटीको सहसंयोजकमा प्रवीण रसाईली, सचिवमा सागर बानियाँ, सहसचिवमा विनोद भण्डारी र कोषाध्यक्षमा रञ्जु विक रहेका छन् । युवा भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पाटीृ (नेकपा) म्याग्दीका सचिवालय सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख सुरत केसीले वर्तमान केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा र नागरिकको जीवनस्तरमा परिवर्तन आउने गरी काम गरिरहेको बताए ।

सचिवालय सदस्य केसीले देश विकास तथा जनमुखी काम गर्नका लागि नेपालमा कम्युनिष्ट सरकारबाहेक अरु कसैले गर्न नसक्ने भन्दै अहिले पछिल्लो अवस्थामा नेकपा दुई समूहमा विभाजित भए पनि आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् । न्यायप्रेमी युवा र विद्यार्थीहरु नेकपामा आबद्ध हुनुको विकल्प नभएको बताउँदै उनले सबै युवाहरुलाई समाज परिवर्तनका काममा अग्रसर भएर लाग्न सुझाव दिए ।

सोही कार्यक्रममा बोल्दै नेकपा पुलाचौरका वडा कमिटी अध्यक्ष भोजबहादुर कार्कीले बुढाबुढीलाई वृद्धभत्ता, गाउँगाउँमा विकासका लागि बजेट ल्याउने, देशमा लोर्डसेडिङको अन्त्य गर्ने र दुर्गम क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउने जस्ता थुप्रै कामहरु गर्ने पार्टी नेकपा भएकाले यसैमा लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बेनपा–५, पुलाचौरका वडा सदस्य तोपबहादुर कार्की, युवा संघका जिल्ला सदस्य विजय घर्ती र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुवास विश्वकर्माले नेपालमा केपी शर्मा ओलीबाहेक अरु सरकारले काम गर्न नसकेको भन्दै नेकपामा लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम साविक युवा संघ नेपाल म्याग्दीका पूर्व सचिव दिनेश कार्कीको अध्यक्षता, युवा सन्दीप भण्डारीको स्वागत र अनेरास्ववियुका सदस्य उदय दर्जीको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply