जिल्ला प्रशासन कार्यालय म्याग्दीले जिल्लाका २२ सरकारी कार्यालयको एकैपटक छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर सेवाग्राहीको गुनासो आउने कार्यालय सहित सबै सरकारी कार्यालयको अनुगमन गरेको हो ।

३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको थियो । कर्मचारीको नियमित उपस्थिति देखि सेवा प्रवाह र कार्यालय ब्यवस्थापनसँग सम्बन्धित सूचकलाई आधार मानेर अनुगमन गरिएको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अनुगमन गरिएका कार्यालयका २ जना प्रमुख सहित १० जना कर्मचारी अनुपस्थित भएको पाइएकाले स्पष्टिकरण सोधिने छ । ‘सूचकको समिक्षा नियमित कार्यालय बैठकमा हुन्छ,‘छड्के अनुगमन कुनैपनि बेला हुनसक्छ’ प्रजिअ अधिकारीले भन्नुभयो ।

प्रजिअ अधिकारीले झुक्याएर अनुगमन गरिने भएकाले सुझावको कार्यान्वयनको अवस्था अर्को अनुगमनमा मुल्याङ्क सहित सार्वजनिक गरिने बताउनुभयो ।

अनुगमनमा सेवा प्रवाहमा सूचना प्रबिधिको प्रयोग,अभिलेख ब्यवस्थापन, सूचना अधिकारी, गुनासो पेटिका, सेवाग्राहीका लागि शुद्ध खानेपानी, स्तनपान कक्ष स्थापना भएपनि भिडभाड हुने कार्यालयमा प्रतिक्षालय नभएको, शौचालय र पुर्बाधार अपाङ्गमैत्री नभएको पाइएको सहायक प्रजिअ कुँवरले बताउनुभयो ।

तोकिएको पोसाकमा नभएको र अधिकांश कार्यालयका कर्मचारी परिचयपत्रमा उपस्थित नभएको फेला पारिएको, सूचकमा कार्यालयका शौचालय र वरपरको सरसफाईमा ध्यान दिन, हरियाली प्रर्वद्धन गर्नुपर्ने अनुगमन टोलीले सुझाव दिएको छ ।

नियमित कार्यालय निरीक्षण गरी राष्ट्रसेवक कर्मचारीहरुलाई अनुशासित र मर्यादित बनाउने तथा गुनासो आउने कार्यालयमा छड्ने अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमन टोलीले घरेलु तथा साना उद्योग विकास समिति, शिक्षा विकास तथा समन्वय एकाइ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय,पूर्वाधार विकास कार्यालय राष्ट्रिय, स्वास्थ्य कार्यालय, नेपाल विद्युत् प्राधिकरण, मालपोत कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र डिभिजन वन कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, पुनर्निर्माण जिल्ला कार्यान्वयन एकाइ, जिल्ला हुलाक लगायतका कार्यालयको अनुगमन गरिएको थियो ।

केही कार्यालयमा कार्यालय प्रमुखले कर्मचारीलाई दुख दिने गरेको गुनासो समेत पाइएकाले थप अनुगमनको आवश्यकता रहेको टोलीले जनाएको छ ।

कार्यालय प्रमुख सहितका कर्मचारीले अनुगमनमा भन्दै घरतिर जाने गरेको पाइएकाले समेत नियमित आवश्यकता रहेकाले अनुगमनका कार्यहरुलाई प्रभावकारी बनाउने प्रशासनले जनाएको छ । टोलीले अनुगमनमा तत्काल कर्मचारीले सुधार गर्न पर्ने कार्यहरुको प्रगति तिनदिन भित्र दिन समेत निर्देशन दिएको छ ।

Leave a Reply