बेनी नगरपालिका-२, खवरा निवासी धनबहादुर पाठकको उपचारमा संकलिन रकमको विवरण सार्वजनिक गरिएको छ । न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कार्यरत पाठकको उपचारमा विद्यालयका शिक्षक कर्मचारी तथा पूर्वविद्यार्थीहरुले स्वदेश तथा विदेशबाट १२ लाख १२ हजार ८२७ रुपैयाँ संकलन गरेका छन् ।

संकलित रकममध्ये उपचारमा ३ लाख १४ हजार खर्च भएको र बाँकी रकममध्ये ९ लाख रुपैयाँ पाठकको नाममा मुद्धतीमा राखिएको छ । उपचारपश्चात् बचत भएको रकमलाई वित्तिय संस्थामा निज पाठककै नाममा मुद्धतिमा राखिएको र सोबाट प्राप्त व्याज नियमित उपचारम खर्च गरिने अभियानका सदस्य निरञ्जन श्रेष्ठले बताए ।

श्रेष्ठले भने – मुद्दतीमा भएको रकमबाट नै भविष्यमा पाठकको उपचार गर्न सकिने र पुनः थप सहयोग जुटाउन नपर्ने भएको छ । मृगौला कलेजो र रक्तकोषिकामा जटिल समस्या देखिएपछि विद्यालयको तर्फबाट मनोज खड्का, निरञ्जन श्रेष्ठ, शैलेश श्रेष्ठ, प्रमोद शर्मा, पूर्व विद्यार्थी सुस्मा श्रेष्ठ लगायतले आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए ।

उपचारपछि बचेको सहयोग रकम र मुद्दती रसदि गत शुक्रबार आयोजित एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक डी.बि. दाहालले पाठकलाई हस्तान्तरण गरेका थिए । त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक एवम् परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यसमिति सदस्य कृष्ण जिसीको संयोजकत्वमा समेत आर्थिक संकलन अभियान गरिएको थियो ।

‘उहाँले नियमित औषधी सेवन गर्नुपर्छ, नियमित चेकजाँच पनि गर्नुपर्छ, शान्तिकोषमार्फत् उठेको रकम सोही प्रयोजनका लागि प्रयोग हुनेछ’ संयोजक जिसीले भने । पाठक दुईदशक देखि न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कार्यरत छन् ।

Leave a Reply