दुई वर्षपछि जन्मथलो धारापानी पुगेका चक्रबहादुर थापालाई गाउँलेहरूले पालैपालो माला, खादा र अबिर लगाएर सम्मान गरे। यसरी आत्मीयता पाउँदा उनी भावुक बने।  उनले अतुलनिय सम्मान पाए। जन्मथलो धौलागिरि गाउँपालिका–७ धारापानीको विद्यालयलाई उनले पाँच रोपनी भन्दा बढी जमिन दान गरेकाले गाउँलेहरूले खुसी भएर घन्टौंसम्म उनको सम्मान गरेका हुन्।

केही दिन अघि खुला आकाशमुनि आयोजित कार्यक्रममा गाउँका बुढापाकादेखि युवासम्मले थापाको योगदानको चर्चा गरे। हुनेखानेहरू बेनी, पोखरा र काठमाडौंसम्म पुर्‍याएर आफ्ना सन्तान पढाउँछन्। गरिबका सन्तानहरूले पढ्ने स्कुलको विकासमा योगदान दिएकाले उनी सबैका प्रिय बनेका हुन्।

ढोरपाटन, धौलागिरि राउण्ड, गुरिल्ला टे«क र गुर्जा हिमाल पदमार्गमा पर्ने रमणीय गाउँको जग्गा दान गर्दा थापाको मुहारमा खुसी छचल्किएको थियो।  ‘शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउन पाउँदा संतोष मिलेको छ’, उनले सेतोपाटीसँग भने, ‘मान्छे भएर जन्मेपछि सकेको समाजसेवा पनि गर्नुपर्छ।’

किसानी मावि त्यही हो जहाँ उनले कक्षा ५ सम्म पढेका थिए। विसं २०१७ सालमा खुलेको किसानी माविमा २८५ जना विद्यार्थी पढ्छन्। यहाँ १५ जना शिक्षक र दुई जना कर्मचारी कार्यरत छन्।

विसं २०७७ को बर्खाको पहिरोले धारापानी क्षेत्रको जमिन फाट्यो, घरहरूमा असर पुर्‍यायो। प्राकृतिक विपत्तिले विद्यालयलाई समेत छाडेन।

‘विद्यालय भएको ठाउँमा पुननिर्माण गर्न नहुने प्राविधिक टोलीले सुझाब दियो’, विद्यालयका प्रधानाध्यापक ध्रुब भण्डारीले भने, ‘त्यसैले नयाँ ठाउँको खोजी गरेका हौं। चक्रबहादुरजीले बहुमूल्य जग्गा दान दिनु भयो। उहाँसहित अन्य गाउँलेले दिएको करिब साँढे ६ रोपनी जमिनमा हामी धमाधम भवन बनाउँदैछौं।’

अचेल खुल्ला आकाशमुनि बेन्चमा राखेर विद्यार्थीलाई पढाइन्छ। ‘अबको ६ महिनाभित्र भवन बनिसक्छ’, प्रधानाध्यापक भण्डारीले भने, ‘भवन बनाउन पनि सहयोग जुटाएका छौं।’

विद्यालय व्यवस्थापन समितिले दाताको सम्मान गर्न विद्यालयको नाउँ ‘श्री किसानी चन्द्रकुन्ता मावि’ नामाकरण गर्ने योजना बनाएको छ। दानवीरको बाबा र आमाको नाम जोडेर नामाकरण गर्न लागिएको हो। ‘उहाँले जग्गा दान गरिसक्नु भएको छ’, प्रधानाध्यापक भण्डारीले भने, ‘माघ १५ गते विद्यालयको नाममा जग्गा पास गरिदिने तयारी भएको छ।’

थापाको काममा उनका भाई क्याप्टेन पूर्णप्रकाश र बुहारी सीताले पनि भरपुर सहयोग पुर्‍याउँदै आएका छन्।

थापा अचेल भैरहवामा बस्छन्। उनी विसं २०१४ असोज २२ गते धारापानीमा जन्मेका। कक्षा ५ सम्म किसानीमै पढेका उनले निमावि भने दुई घन्टा परको गाउँ सिवाङमा पढे। पछि कक्षा ९ र १० दरबाङमा पढे। विसं २०३२ सालमा एसएलसी दिएर केही समय सिवाङकै निमाविमा पढाए। अनि सन् १९७७ देखि सन् १९९५ सम्म १८ वर्ष लाहुरे बने। अर्थात् भारतीय सेनामा काम गरे।

तिनताका उनको गाउँ धारापानी विकट थियो। म्याग्दीको सदरमुकाम बेनीबजार त मोटर बाटोले जोडिएको थिएन, गाउँमा सडक हुने कुरै थिएन। सुनौली हुँदै बटौली (वुटवल) भएर घर पुग्न निकै दिन लाग्थ्यो।

त्यसैले उनको परिवार भैरहवामा बसाइँ सर्‍यो। विसं २०४३ देखि उनी त्यतै बस्दै आएका छन्। बर्सेनी एक पटक जन्मथलो आउँछन्। पोहोर कोरोना महामारीको त्रासले आउन पाएका थिएनन, यसपाला चाहिँ जग्गा दान गर्न आए।

‘पहिला हाम्रो गाउँमा अहिलेको जस्तो सडक, बिजुली र पानी सुविधा थिएन’, उनले सम्झिए, ‘अहिले जस्तो भइदिएको भए बसाइँसराइँ गरिन्नथ्यो होला।’ कर्मको लहराले डोराउँदै जता पुगे पनि उनको मनमा धारापानी धड्किरहन्छ। गाउँको चिसो हावापानी, अर्गानिक खाना र हिमाली सौन्दर्यको झल्को आइरहन्छ।

उनी सेनाबाट रिटायर्ड भएपछि ७ वर्ष युरोपमा बसे। सन् २००२ मा जर्मनबाट नेपाल फर्केपछि उनले सामाजिक कामको अगुवाई गर्दै आएको बताए। उनको गाउँ मायादेवी गाउँपालिका–६ बेतनीमा त्यतिबेला विद्यालय थिएन। ५ किमि टाढा मात्र विद्यालय थियो। फलस्वरुप गरिब विद्यार्थीले पढ्न पाएका थिएनन्।

गाउँमा विद्यालय खोल्न कठ्ठा जमिन दान गरे जसको मूल्य अहिले पचास लाख रुपैयाँभन्दा बढी पर्छ। विसं २०६२ मा खोलिएको तिनाउ प्रावि हाल मावि भैसकेको छ। यो विद्यालय खोल्न सुवेदार नरबहादुर थापाको ठूलो योगदान भएको उनले बताए। विद्यालयमा उनकी श्रीमति यमुनाले दुई वर्ष निःशुल्क पढाइन्। पछि राहत कोटा आयो। उनी निरन्तर पढाउँदै छिन्।

चक्रबहादुर यतिमा सिमित छैनन्। उनले स्थानीय प्रगतिशील आमा समूहको भवन बनाउन पनि अगुवाई गरे। विसं २०७६ सालमा बनाइएको भवनमा ५ सय जना अटाउँछन्। त्यसैगरि यतिबेला ओम शान्तिको भवन बनाउने उपभोक्ता समिति अध्यक्षका रुपमा क्रियाशील छन्।

अन्त्यमा, धारापानीका सामाजिक अभियन्ता तेजिन्द्र थापको भनाई, ‘चक्रबहादुरजीले जस्तै हामी सबैले आआफ्नो ठाउँको विकासमा योगदान पुर्‍याउन सके छिट्टै समुन्नत समाज निर्माण हुन सक्छ।’ दानविर चक्रबहादुर थापाको सुस्वास्थ्य एवं दीर्घायुको कामना!  Source: setopati.com