म्याग्दीको सदरमुकाम बेनीमा सोमबार बुद्धिबिम्ब साहित्यिक तथा शैक्षिक पत्रिका विमोचन एवं खुल्ला गजलवाचन प्रतियोगिता सम्पन्न भएको छ । बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको माउण्ट म्यानिअकको आयोजनामा पत्रिका विमोचन तथा गजलवाचन कार्यक्रम गरिएको हो ।

प्रतियोगितामा बिशाल थापामगर, रमेश सुवेदी, दिपक शर्मा ‘दिुप’, कान्ति पौडेल, समिर रोका र सुस्मिता बानियाँ सहभागी बनेका थिए । विभिन्न विधा समेटिएको ६ जना प्रतियोगीहरु सहभागी गजलवाचन प्रतियोगितामा समिर रोका प्रथम, रमेश सुवेदी द्वितीय र दिपक शर्मा ‘दिपु’ तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद पाँचहजार, चारहजार तथा तीनहजार रुपैयाँले पुरस्कृत गरिएको छ । विद्यालयद्वारा प्रकाशित बुद्धिबिम्ब साहित्यिक एवं शेक्षिक पत्रिकाको विमोचन गर्दै उज्यालो रेडियो नेटवर्कका कार्यक्रम संयोजक तथा साहित्यकार अच्युत घिमिरे ‘बुलबुल’ले साहित्यिक गतिविधिलाई विद्यालयस्तरमा सञ्चालन गर्नुपर्ने बताए । उनले राजनीतिभन्दा साहित्यलाई प्राथमिकता दिएमा समाजलाई साहित्यको माध्यमबाट पनि परिवर्तन गर्न सकिनेमा जोड दिएका छन् । विमोचित साहित्यिक पत्रिकामाथि नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले परिचर्चा गरेका थिए । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक नारायणप्रसाद पौडेल, साहित्यकारद्वय श्रीकृष्ण भूषाल ‘घायलश्री’ र हिरा शर्मा ‘संघर्ष’ले साहित्यिक मन्तव्यसहित गजलवाचन गरेका थिए । उक्त कार्यक्रममा म्याग्दीका वरिष्ठ साहित्यकार ध्रुवलाल शर्मा र चन्द्रबहादुर लामिछाने ‘प्रभात’को विशेष उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल राजु केसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

भाइस प्रिन्सिपल खुमबहादुर केसीले मन्तव्य राखेको कार्यक्रम पत्रिकाका प्रधानसँम्पादक कामना केसीको अध्यक्षता, विद्यालयका शिक्षक अनुरोध रिजालको सञ्चालन, विद्यार्थीहरु एन्जिलिना अर्मजा, रिट्रोना बानियाँ र प्रमोद परियारको स्वागतमा सम्पन्न भएको थियो । विद्यालयले विभिन्न समयमा खेलकुद, साहित्यिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ ।

Leave a Reply