बागलुङमा कोरोना (कोभिड–१९) संक्रमणबाट रेडक्रसकर्मी एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-७ का ३७ बर्षिय युवाको मंगलबार बिहान धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनी गत पुस २१ गते धौलागिरी अस्पताल भर्ना भएका थिए ।  कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएकाले उनको जाँच गर्दा कोभिड पुष्टि भएको थियो ।

मंगलबार बिहान ७ः१० बजे उनको सघन उपचारकक्ष आइसियुमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । उनी केही दिन होम आइसोलेसनमा बसेर जटिल अवस्था आएपछि अस्पतालमा भर्ना भएका थिए ।

रेडक्रस लगायतका सामाजिक संस्थामा कृयाशिल उनी कसरी संक्रमित भए भन्ने स्रोत नखुलेको अस्पतालले जनाएको छ । हिजो (सोमबार) मात्रै जैमिनीकै वडा नं. ८ का ५६ बर्षिया पुरुषको कोरोनाकै कारण मृत्यु भएको थियो । उनको मृत्युसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ११ पुगेको छ ।

Leave a Reply