म्याग्दीकी निशा सुवेदी मिर्गौला प्रत्यारोपण गर्न आइतबार दोस्रो पटक महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएकी छिन्। यसअघि उनको मिर्गौला प्रत्यारोपण गर्न अस्पतालले गत वर्षको चैत ९ गते मिति तोकेको थियो।कोरोना रोकथाम गर्न चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै अप्रेसन सम्बन्धी काम अस्पतालले बन्द गर्‍यो। त्यतिबेला निशा मिर्गौला प्रत्यारोपण गर्न भनेर अस्पतालमा भर्ना भइसकेकी थिइन्।

भर्ना भएको एक दिनपछि नै अस्पतालले मिर्गौला प्रत्यारोपण नगरी उनलाई डिस्चार्ज गरिदियो। ‘त्यतिबेला मिर्गौला नफेरी घर फर्कनुपर्‍यो,’ उनले भनिन्, ‘अस्पतालले मिर्गौला फेर्न लकडाउन खुलेपछि पहिलो पटक मलाई भर्ना लिएको छ।’

२८ वर्ष लागेकी निशाको दुबै मिर्गौलाले काम गर्न छाडेको १८ महिना भएको छ। त्यसबेला उनी सुत्केरी हुन म्याग्दी जिल्ला अस्पतालमा भर्ना भएकी थिइन्। चिकित्सक टोलीले उनलाई सुत्केरी व्यथा लाग्ने औषधी दिए। त्यही औषधी सेवनपछि नै उनलाई समस्या देखिन थाल्यो।

डाक्टरले एउटा औषधि तीन पटक खान दिएका थिए। दुई पटक औषधि सेवन गरेपछि उनलाई एलर्जी भयो। अस्पतालको बेडमा उनी रातभरि रोइन्। ‘त्यतिबेला मैले सहनै सकिनँ, रुँदारुँदै बेहोस् भएँछु,’ निशाले भनिन्।

उनी गर्भवती भएदेखि नै नियमित स्वास्थ्य परीक्षणमा जान्थिन्। त्यसअघि स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन। व्यथा लाग्ने औषधि खाएपछि पीडा सहन नसकेर बेहोस् भएकी निशा बिहान ब्युझिँदा नाक-मुखमा अक्सिजन जोडिएको थियो।

उनी बेहोस अवस्थाबाट होसमा त आइन्, तर उनको पिसाब रोकियो। उनको पिसाब खुलाउन म्याग्दी अस्पतालको चिकित्सक टोली असफल भयो।

चिकित्सकले आमा वा बच्चामध्ये एक जना मात्र बाँच्ने भनिरहेका थिए। निशाकी आमा फूलकुमारी सुवेदीले आमा र बच्चा दुबै जोगाउन अनुनय गरिन्। अन्ततः अस्पतालका स्वास्थ्यकर्मीले अप्रेसन गरेर बच्चा जन्माइदिए। निशाको पिसाब नखुलेपछि मिर्गौलाको समस्या भएको आशंकामा बेनी अस्पतालले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिदियो।

भर्खरै जन्मिएको नवजात छोरासहित निशा पोखरा आइन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ९ दिन आइसियूमा राखियो। त्यसपछि सामान्य वार्डमा डेढ महिना राखियो। अस्पतालका चिकित्सकले अकस्मात देखिएको मिर्गौलाको समस्या केहीपटक डायलासिस गरेपछि निको हुने बताइदिए। तर, निशाको मिर्गौलाले काम गरेन। डायलासिस गर्दै अस्पतालमै बसिन्। अस्पतालमै छोराको न्वारान गरेर नाम राखिदिइन्, निशान।

चिकित्सकले अब अस्पतालबाहिर घरमा बसेर आराम गर्न भन्यो। त्यसपछि निशा अस्पतालबाट उठिन्। पोखरामै डेढ महिना कोठा खोजेर बसिन्। नियमित डायलासिस गर्न जानुपर्थ्यो। काम गर्न सक्ने अवस्था थिएन।

चिकित्सकले ‘अब डायलासिस नगरी हेरौं, निको हुन्छ कि’ भने। उनले पनि मानिन। डायलासिस नगर्दा उनको रक्तचाप बढ्यो। रक्तचाप अत्यधिक बढ्दा उनको दुबै आँखा बन्द भए। त्यतिबेला उनलाई अरुले नै समातेर डोर्‍याउनुपर्थ्यो। उनका श्रीमान बालकृष्ण आचार्यले उनलाई काठमाडौंस्थित ग्राण्डी अस्पताल पुर्‍याए।

ग्राण्डी अस्पतालमा उनको आँखाको नशा सुकिसकेको चिकित्सकले बताइदिए। अस्पतालको उपचार सेवा महंगो भएर उनको उपचार भएन।

श्रीमानले उनलाई पोखरा फिर्ता ल्याए। आँखा बन्द भएपछि हरक्षण उनको हेरचाह गर्न एक जना मानिस बस्नुपर्ने भयो। श्रीमान बालकृष्णले उनलाई साथ दिए।

पोखरा फर्केपछि पुन: आँखा खुल्ने आश उनले मारिनन्। पोखराकै हिमालय आँखा अस्पताल गइन्, अस्पतालका चिकित्सकले उनको देब्रे आँखामा सुई लगाइदिए। सुई लगाएपछि उनको आँखा विस्तारै खुल्दै गयो। उनी देख्न सक्ने भइन्।

यी सब घटनाक्रम लिएर फेरि उनी यसअघि मिर्गौलाको डायलासिस गरेको ठाउँ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन्। उनको मिर्गौला उपचारमा खटिएका चिकित्सकलाई सबै कुरा सुनाइन्।

अकस्मात देखिएको मिर्गौलाको समस्या केही समय डायलासिस गरेपछि निको हुने चिकित्सकको विश्वास अब टुट्यो। चिकित्सकले निशालाई भनिदिए, ‘अब तिम्रो मिर्गौलाले काम गर्दैन, प्रत्यारोपण गर्नू।’

मिर्गौलाको उपचारमा यतिका दौडधुप गर्दा उनको झण्डै एक वर्ष बित्यो। मिर्गौला फेर्नुपर्ने अवस्था आएपछि उनको आमा फूलकुमारीको मिर्गौलाले निशाको शरीरमा काम गर्ने शिक्षण अस्पतालका चिकित्सक टोलीले बताइदिए। लकडाउन हुन्थेन भने गत चैत ९ गते नै उनको मिर्गौला प्रत्यारोपण भइसक्थ्यो, अहिले उनी घर फर्किसक्थिन्।

लकडाउनकै कारण मिर्गौला फेर्न दोस्रो पटक अस्पताल पुगेकी निशाले त्यहीँ पुगेर थाहा पाइन्, प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला पनि त्यहीँ अस्पतालमा प्रत्यारोपण भएको थियो।

आर्थिक अवस्थाले नाजुक स्थितिमा रहेकी निशाले अस्पतालको बेडबाट भनिन्, ‘प्रधानमन्त्रीको सबै उपचार नि:शुल्क होला, मेरो त कहाँ हुनु?’ उनको मिर्गौला प्रत्यारोपण यहीँ पुस २९ गते हुँदैछ।

लकडाउनभरि निशा र उनका श्रीमान बालकृष्ण काठमाडौंको बसुन्धारामा कोठा भाडामा लिएर बस्न थाले। लकडाउनमा डायलासिस गर्न सजिलो होस् भनेर काठमाडौं बस्दा पनि धेरै दु:ख पाइन्। हप्तामा दुई पटक डायलासिस गर्नुपर्थ्यो। झण्डै पाँच पटक हिँडेर नै उनी राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा गइन्।

मिर्गौला फेल भएको मानिस हिँड्न सक्दैनन्। त्यसमाथि मिर्गौला प्रत्यारोपण नगरी हिँडडुल गर्नु खतरनाक हुन्थ्यो। कोठाबाट नजिकै भए पनि डायलासिस गर्न जाँदा तीन घण्टा हिँडेपछि मात्र उनी राष्ट्रिय मिर्गौला उपचार केन्द्र पुग्थिन्।

मिर्गौलाले दिएको पीडा बोकेर उपचारको खोजी गर्दाको यो डेढ वर्षमा १३ लाख बढी खर्च भयो। उनको परिवारको आर्थिक स्रोतले उपचारमा यतिका खर्च गर्न सक्ने अवस्था थिएन। म्याग्दीका नेत्रराज सुवेदी संयोजक भएर उनको उपचारमा सहयोगार्थ  आर्थिक संकलन अभियान चलाए। अभियानमा पत्रकार हरिकृष्ण गौतम लगायतले साथ दिए।

उनका मामाको छोरा सन्तोष पौडेल लगायत आफन्तले पनि उतिकै साथ दिए। अभियानमा झण्डै आठ लाख रुपैयाँ उठाएर उनलाई हस्तान्तरण गरेको हरिकृष्णले बताए। अहिले मिर्गौला प्रत्यारोपण गर्न पनि सात-आठ लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन्। ‘बाचुञ्जेल महँगो औषधी खानुपर्छ भनेका छन्,’ निशाले चिकित्सकको भनाइ उद्धृत गर्दै भनिन्।

बाँच्नका लागि निशाको यतिका छटपटाहटमा भने उनका बुवा बेखबर छन्। अहिलेसम्म छोरी कस्तो छ समेत भनेका छैनन्। निशा डेढ वर्षकी हुँदी हो, उनका बुबाले अर्को श्रीमती लिएर घर छाडे। ठेकदारी काममा लागेका बुबाले काठमाडौंमा पसल खोलेका छन्। ‘बुवाले अहिलेसम्म फर्केर हेरेका छैनन्,’ उनले भनिन्।

बुवासँग लडेर आमालाई न्याय दिलाउने उनले लक्ष्य लिएकी थिइन्। ‘मैले केही गर्छु भनेको थिए, ठ्याक्कै यस्तो भयो,’ उनले भनिन्। बुवाले छोडेर गएपछि निशा–फूलकुमारीले पाउनुसम्म दु:ख पाएको उनले बताइन्।

बुवाले छोडेर गए पनि सम्पत्तिको नाममा केही नदिएको उनको भनाइ छ। बस्न, खान कुनै प्रबन्ध थिएन। छिमेकीले आफ्नो जमिनमा टहरा हाल्न टिन र ब्लक दिए। म्याग्दीको बेनी नगरपालिका–पुलाचौरमा त्यसैको घर बनाएर उनीहरू बस्न थाले।

कहिले अर्काको घरमा गएर काम गर्ने त कहिले अर्कोका जमिनमा कुटो कोदालो गरेर जीविका चलाउँथिन्, फूलकुमारी। निशा भने एसएलसी सकेर पढ्न बेनी झरिन्। उनलाई बेनीस्थित एउटा बोर्डिङ स्कुलले नि:शुल्क कक्षा ११ र १२ सम्म पढाइदियो। उनी पढ्दै बेनीकै एक सहकारीमा काम गरिन्।

स्नातक पढ्न जब उनी म्याग्दी क्याम्पसमा भर्ना भइन्, उनको घरमा अर्को आपत् आइलाग्यो। अर्कोको जमिनमा बनाएको टहरा २०६५ वैशाख २० गते आगलागी भयो। त्यसपछि उनको परिवार घरविहीन बन्न पुगे। त्यही घटनापछि उनलाई पढ्न मन लागेन। भर्ना भएर त्यतिकै छाडिदिइन्।

अहिले भने निशाका श्रीमानले किनिदिएको सानो टुक्रा जमिनमा छाप्रो हालेर आमा बास बसेकी छिन्। निशाका श्रीमान त्यतिबेला मलेसिया थिए। पछि निशा बिरामी हुँदा कुवेत गएको जम्मा एक महिना भएको थियो। निशाको उपचारमा कुवेतबाट फर्किएका बालकृष्ण अहिले पनि उनको उपचारमै खटिएका छन्।

बालकृष्णको परिवार पर्वतबाट बन्दीपुर पुगेर कृषि कर्ममा लागेका छन्। निशाको उपचारमा बालकृष्णको परिवारले पनि सकेजति सहयोग गरिरहेका छन्।

निशाको मनमा एउटा सपना छ, आमालाई न्याय दिलाउने। अस्पतालको बेडमा बसेर उनले बुवाले आमालाई दिएका शारीरिक र मानसिक यातना सम्झिएकी छिन्। उनले एउटा सपना संगालेकी छिन्।

‘आमाको लागि अब म मुद्दा लड्छु भनेर सोचेको थिएँ,’ उनले अठोट गरिन्, ‘सन्चो भएपछि त अदालत गएर हुन्छ कि कहाँ गएर, मुद्दा त लड्छु लड्छु।’ source: setopati.com