मैले पोहोर साल किनेको झोला फाट्यो,
झोला सङ्गै मेरो मन फाट्यो,
यसरी नै कैयौँ झोलाहरु फाटे, फेरिए,
खै किन फाट्दैन पल्लाघरे दाईको झोला,
म देख्छु पटक पटक चुहिएको ।

ठाउठाउमा त्यातिएको,
टालिएको ,च्यातिएको
अनि टाल्न खोजीएको,
त्यही बेकार भैसकको,
केही बोक्नै नमिल्ने।

झोलालाई घिसारिरहेका छन,
सायद देखेका छैनन् की,
या देख्न चाहदैनन की
झोलाले झोलाको काम नगरेको
तर पनि किन फेर्दैनन् त्यो झोला
बाबुले पनि त्यही एउटै झोलाले
चलाएथे चोला।

दाजुले पनि छाड्दै
छाड्दैनन् त्यै झोला,
कैयौ झोला आए, गए,
मैले रुख भएको झोला भिरे,
सुर्यको झोला पनि बोके,
हसिया हतौडाको पनि लिए,
मलाई जे भनेर झोला भिराईयो,
कुनैपनि झोलाले ती
बाचा पुरा गरेनन।

जुन सपना, आस लिएर
त्यो झोला भिरेथे,
सबै तुहिएर, टुटेर गए,
त्यती ठुलो, महङ्गो
झोला भित्र अटनै सकेन
दुईचार विकास
उन्नतीका कागजहरु।

र त आजभोली वाक्क लाग्छ
ति झोलाहरुसङ्ग
र झोला बेच्ने दलालहरुसङ्ग,
मलाई पुगिसक्यो यी झोलासङ्ग,
झोला भिर्ने झोलेहरुसङ्ग,
अनि बेच्ने दलालहरुसङ्ग,
मलाई अचम्म लाग्छ देख्दा
बजारमा कामै नलाग्ने,

थोत्रो झोलै झोलाका तातिहरु,
त्यही बेकार झोलालाई
सिरोपर गर्ने हजुर बा
अनि नातीहरु,
चुहियोस, केही नअटोस
आफ्ना झोला लतारिरहन्छन,
छाड्नै सक्दैनन।

आफ्ना झोलाहरु पनि चुहिन्छन यो त
मान्नै सक्दैनन,
अरुका झोलाको भने अ‍ैरो खन्छन,
मेरो झोला सन्सारकै राम्रो भन्छन,
उस्तै परे भाईभाई फुट्छन,
झोलाकै निम्ती साथीभाई पनि छुटछन,
तर छाड्दैनन त्यो बोझलाई भिर्न,
लतारिरहन्छन् , धिसारिरहन्छन।

देख्दैनन बोकेको झोलाले भष्टचार गरेको,
गरिब निमुखामाथी अत्याचार परेको,
सायद त्यो झोला सुनले बनेको छ।

या झोलाभित्र बहुमुल्य कुरा छ
जुन झोला भिर्नेले पाउछ,
खै किन आउदैन त्यस्तो झोला,
जस्मा यो देश अटाउछ,
जसले बन्दै गरेका बाटा बनाउछ,
र देशले विकास उन्नती पाउछ।
रमा जिसी
पर्वतबेनी, हाल अस्टेलिया