म्याग्दीको सदरमुकाम बेनीबजारमा सडकमै सर्पं झै घिस्रिएर दिन विताउँदै आएका अन्दाजी ६० बर्षिय आइते सार्की सधै चिसो भुईमा सुत्छन् । साँधुरो बेनीबजारमा सवारीसाधनको चाप, पदैलयात्रीको भिडभाडमा मदिरामा लठ्ठ अवस्थामा भेटिन्छन् ।

पर्वतको जलजला गाउँपालिका घर बताउने आईतेले लामो समय भरियाको परिचयले चिनिए । पछिल्लो आधादशक यता सडकमै सुत्ने, पैसा मागेर मदिरा सेवन गर्ने गरेका आइतेलाई बेनीबजारमा नचिन्ने कोही छैनन् । सडकपेटीमा कष्टकर जिवनयापन गर्न विवश आइते अब बेनीको सडकमा भेटिदैनन् ।

शारिरिक अवस्था देखेर दिएको पैसाले दिनरात काट्ने गरेका आइतेलाई बुधबार मानवसेवा आश्रम बागलुङले उद्धार गरेको छ । म्याग्दी बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकायमा अध्ययनरत मञ्जु भण्डारी लगायतको सक्रियता र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको पहलमा उद्धार गरिएको हो ।

‘उहाँको अवस्था देखेर निकै दुख लागेको थियो,‘हाम्रो प्रयासलाई मेयर सावले पनि साथ दिनुभयो’ उद्धारमा सक्रिय भण्डारीले भनिन् । चिसो भुईमा सुतेको देखेपछि उद्धार गरी सुरक्षित स्थानमा राख्ने चाहना पुरा भएको बताउँदै जीवनमै ठूलो काम गरेको महसुस भएको भण्डारीको भनाई छ ।

‘उहाँलाई सडकमा भेट्दा हामी निकै दुखि थियौं,‘अब आश्रममा हुनुहुन्छ, खुसीले पहाड नाघेको छ’ भण्डारीले भनिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीको सहयोगमा बागलुङको आश्रममा पुर्याउन सुनिता गोतामेले पनि साथ दिईन् ।

‘अब यस्ता काममा सक्रिय हुने बाचा गरेर बागलुङबाट फकियौं,‘हामीले सानो सहयोग गरौं, धेरै मिठो पाठ आश्रमभित्र सिकेर फर्कियौ’ टोलीकी सदस्य गोतामेले भनिन् । स्वास्थ्य परीक्षणपछि उनलाई आश्रमको नियमित अभ्यास सहितका गतिविधिमा सहभागि बनाइएको थियो ।

बागलुमा रहेको मानवसेवा आश्रमले विभिन्न उमेर समूहका सडक आश्रित अशक्त र अभिभावक विहिन व्यक्तिहरुको सेवा गरिरहेको छ।यसअगाडी आइते सहित सडकमा भेटिएकालाई कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनमा सामाजिक संस्था लायन्स क्लव अफ पिस सिटीले भोजन सहित सरसफाई, नयाँ लत्ताकपडा, ओड्ने, ओछ्याने लगायत आवश्यक सहयोग गरेको थियो । सदरमुकाम बेनीमा जिल्ला बाहिरबाट आएका अझै करिब आधादर्जन भन्दा बढी सडकमा बेवारिसे अवस्थामा देखिन्छन् ।

Leave a Reply