जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा नागरिक सहायता तथा स्तनपान कक्ष र वैठक कक्ष स्थापना भएको छ । रघुगंगा गाउँपालिकाको दुईलाख ५० हजार आर्थिक सहयोग एवं रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीको ६१ हजार छसय ९५ रुपैयाँको लागतमा दुवै कक्ष निर्माण गरिएको हो ।

बिहीबार नवनिर्मित नागरिक सहायता तथा स्तनपान कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले हालै स्थापना गरिएको दुवै कक्षले नागरिकलाई सेवा प्रवाहमा सहज हुने बताए । उनले प्रहरीको सेवा नागरिकलाई सहज रुपमा राज्यका सेवासुविधाहरु प्रदान गर्ने, समाजमा शान्ति र अमनचयन कायम गर्ने रहेको बताउँदै नयाँ कक्षबाट सेवा प्रवाह गर्दा प्रभावकारी हुनेमा जोड दिएका छन् ।

प्रजिअ अधिकारीले नवनिर्मित भवनले कार्यालयको दैनिक कार्यसम्पादनमा समेत धेरै सहज हुने भन्दै डिसएपी कुँबरको कार्यकालमा कोभिड नियन्त्रण, अपराध न्युनीकरण तथा प्रकोप व्यवस्थापनमा अधिकांश कामहरु सम्पन्न गरिएको बताए।

सोही कार्यक्रममा बोल्दै म्याग्दीबाट सरुवा भएर जान लागेका प्रहरी नायव उपरीक्षक किरणजंग कुँबरले जिल्ला प्रहरी कार्यालयभित्र जति पनि कामहरु सम्पन्न गरिए ती सबै प्रहरी जवानहरुको सक्रियतामा भएको बताएका छन् । उनले रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित नागरिक सहायता तथा स्तनपान कक्ष आगामी दिनमा थप प्रभावकारी हुने अपेक्षा गरे ।

जिल्लामा क्रियाशील पत्रकारहरुबीच भएको भेटघाटमा प्रनाउ कुँबरले आफ्नो कार्यकालमा भएका प्रगतिका बारेमा जानकारी गराएका थिए । यसअघि रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले सरुवा भएर जान लागेका प्रनाउ कुँबर तथा सहायक प्रमुख जिल्ला अधिकारी माया कुँबरलाई विदाई समेत गरेका थिए ।

Leave a Reply