म्याग्दीको रघुगंगा गाउँपालिकाले रगतको आवश्यक परेको अवस्थामा निशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाबासीले बेनी अस्पतालमा उपचार गर्दा आवश्यक पर्ने रगतको परीक्षणमा लाग्ने शुल्क गाउँपालिकाले तिरिदिने  प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘माघ १ गतेदेखि नै लागु भएको छ,‘उपचारमा जाने बिरामीलाई सहज हुनेछ’ उनले भने । गाउँपालिकाबासीको आधिकारिक परिचय खुल्ने कागजात लिएर सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बेनी अस्पतालमा रहेको रेडक्रस सोसाईटीको रक्तसञ्चार केन्द्रलाई बार्षिक रुपमै भुक्तानी गर्नेछ ।

रक्तसंचार केन्द्रमा संयोजक एवम् रेडक्रस सोसाईटीका उपमन्त्री सुरत केसीका अनुसार रगत निशुल्क भएपनि एचआईभी, हेपाटाईटिस लगायतका सरुवा र जटिल रोगको परीक्षणमा प्रयोग गरिने किटको खर्च गाउँपालिकाले उपलब्ध गराउने बताए ।

अहिलेसम्म बिरामीबाटै किटको शुल्क लिने गरिएको थियो । एक प्वाइन्ट रगतका लागि किटहरु खरिद गर्नुपर्ने र केन्द्रले प्रति प्वाइन्ट ८ सय ९० रुपैयाँ लिने गरेको छ । विपन्नलाई रगत परीक्षण शुल्क तिर्न निकै समस्या हुने गरेकोको अवस्थामा उक्त निर्णय गरिएको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

यता म्याग्दीमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले म्याग्दीमा रक्तदाताको आर्कषण निकै उत्साहजनक रहेको अवस्थामा रगत प्रयोग वापतको शुल्क सम्बन्धित पालिकाले उपलब्ध गराउने निर्णयले ठूलो सन्देश प्रवाह गरेको बताए । म्याग्दीमा अन्य स्थानीय तहलाई समेत रेडक्रस सोसाईटीमार्फत अनुरोध गरिने छ । नियमित बाहेक रक्तदान कार्यक्रमबाट संकलन गरिएको ब्लड जिल्ला बाहिर पठाउने गरिएको छ ।

Leave a Reply