म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो ।

साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहकारीले आफ्नै भवन बनाउन सक्नु महत्वपूर्ण काम भएको बताए । उनले आगामी दिनमा पनि निरन्तर रुपमा सञ्चार संस्थाले आम नागरिकहरुलाई सुसूचित गर्दै आफ्नो कार्यसम्पादन गनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले सञ्चार सहकारीले ३१ जना कर्मचारीलाई रोजगारी दिनु ठूलो उपलब्धि भएको बताउँदै एफएमको सञ्चालन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक प्रमोद श्रेष्ठले ५० लाखको लागतमा जग्गा खरिद गरी एक करोड ७० लाख १४ हजार चारसय ४८ रुपैयाँको लागतमा भवन निर्माणसम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त साधारणसभामा संस्थाका सचिव सुविन श्रेष्ठले प्रगति र कोषाध्यक्ष राजु बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कुल ५ सय ३१ जना शेयर सदस्य रहेको संस्थाको गत आर्थिक वर्षसम्म तीन करोड चारलाख ६५ हजार चारसय रुपैयाँ शेयर पुँजी, ९६ लाख ३९ हजार एकसय ४१ रुपैयाँ आम्दानी र ८६ लाख ८२ हजार छ सय ५२ रुपैयाँ खर्च भएको जनाइएको छ ।

सोही अवसरमा संस्थामा स्थापनाकालदेखि हालसम्म निरन्तर रुपमा उत्कृष्ट कार्य गरेको भन्दै प्राविधिक प्रमुख हर्क लामिछानेलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो भने भवन निर्माण व्यवसायी ध्रुव पौडेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामजीप्रसाद सुवेदीको स्वागत र सचिव सुविन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं. २०६४ सालमा स्थापना भएको संस्था यसअघि बेनीको न्युरोडबाट सञ्चालन हुँदै आइरहेकोमा मङ्गलाघाटमा जग्गा खरिद गरी पाँचतले भवन निर्माणपछि सरेको हो । सञ्चार सहकारीले ८८ दशमलव २ मेगाहर्जमा म्याग्दीकाली एफएम तथा केबुल टिभी र इन्टरनेटको सेवा दिँदै आइरहेको छ ।

Leave a Reply